प्रदेश २ सरकारले बाढी पहिरोमा परि ज्यान गुमाएका परिवारलाई ३ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।
मन्त्रिपरिषदको शनिबारको बैठकमा लगातार ४ दिनदेखिको अविरल वर्षा र बाढीबाट प्रदेश अक्रान्त भएका बेला सरकारले राहत र उद्धारलाई निरन्तरता दिँदै मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।
यस्तै राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपत् व्यवस्थापन समितिलाई तत्कालका लागि १०/१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि भएको छ । सरकारले नदी तटबन्ध क्षेत्रका जनतालाई विशेष सतर्क रहन आग्रह गर्दै राहत तथा उद्धारमा जुट्न प्रदेशभरका युवालाई आह्वानसमेत गरेको छ ।
बाढीबाट प्रदेश २ मा ४ जना बेपत्ता रहेको र उनीहरुको खोजी भइरहेको मन्त्री यादवको भनाइ छ । बाढी पहिरोले अवरुद्ध भएको बाटोमा राहत तथा उद्धारका लागि संघीय सरकारसँग समन्वय गरी हेलिकप्टर मगाउने पहल भइरहेको उनले बताए । बाढीले सयौँ घरपरिवार विस्थापित भएको बताउँदै मन्त्री यादवले उद्धारका लागि रबर बोट अपुग भएको बताए ।