प्रदेश २ सरकारले यही असार १ गते आगामी आर्थिक वर्ष २०७६/७७ का लागि प्रदेशसभामा बजेट प्रस्तुत गर्यो। आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले चालुतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पुँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार रुपैयाँसहित कुल ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट प्रस्तुत गरेका थिए ।
तर बजेट प्रस्तुत भएको १५ दिन बितिसक्दा पनि पारित गर्ने प्रक्रियासमेत सुरु हुन सकेको छैन् । सरकारले पनि यसको पहल थालेको छैन। असार १ मा बजेट पेस भइसकेपछि असार मसान्तभित्र विनियोजन विधेयक पारित गराइसक्नुपर्ने हुन्छ । असार ४ या ५ गते दुई दिन बजेटमाथि सैद्धान्तिक छलफल भए पनि त्यसयता सदन सञ्चालन गर्नेबारे सरकारको तर्फबाट कुनै जानकारी नआएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बजेटअनुसारको योजना तयार गर्न ढिलाइ भएकाले विनियोजन विधेयक प्रदेशसभामा छलफलका लागि पेस हुन नसकेको बुझिएको छ । रेडबुक तयार गर्न समय लागेकाले विनियोजन विधेयक छलफलमा प्रस्तुत हुन नसकेको मन्त्रालय स्रोतले जनायो। तर आर्थिक मामिला तथा योजनामन्त्री यादवले भने सदन सञ्चालन नभएकाले विनियोजन विधेयक छलफलका लागि पेस हुन नसकेको दाबी गरे । ‘रेडबुक तयार पार्ने काममा केही ढिलाइ भएको छ तर बजेट पारित गर्नु समान्य कुरा होइन लामो छलफल गर्नपर्ने छ,’ उनले भने, ‘ ढिलाई भएको होइन् हामी छलफलमै छौँ छिटै विनियोजन विधेयक पारित हुन्छ ।’ गत वर्षभन्दा परिस्कृत र सबै निर्वाचन क्षेत्रमा पर्ने गरी बजेट विनियोजन गरिएकाले विधेयक पारित हुन समस्या नआउने उनको भनाइ छ ।