श्रम तथा रोजगार कार्यालय अपायक स्थानमा राखेर सेवाग्राहि ठगिएको घटना पटक पटक सार्वजनिक भएको छ ।
कार्यालयमा घुसको सेटिङ्ग मिलाएर बिचौलिया परिचालन भएको घटना पछि कार्यालय बजार क्षेत्रमा ल्याउने तयारी भएको थियो । तत्कालीन कार्यालय प्रमुख मनोज यादवले बिचौलीयाको काम गर्न सेवाग्राहीलाई सास्ती दिँदै कुटपीट गरेको समाचार प्रकाशन भएपछि उनलाई विभागीय कारबाही गरिएको थियो ।
त्यस लगतै मन्त्रालयका अधिकारीले सेवाग्राीलाई कार्यालय खोज्न समेत गाह्रो हुने स्थानमा सारिएको भन्दै पायक पर्ने स्थानमा कार्यालय सार्न निर्देशन दिएका थिए । जेठ ५ गते कार्यालय अनुगमन गर्न पुगेका श्रममन्त्री गोकर्ण विष्टलेपनि सेवाग्राहीको दुखेसो तथा गुनासो सुनेपछि कार्यालय सार्न निर्देशन दिए ।
त्यस लगतै वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले कार्यालय सार्ने प्रक्रिया शुरु गर्न कार्यालयका कार्यकारी प्रमुख आबिद अन्सारीलाई निर्देशन दिए । तर, कार्यालय सार्न जिल्ला प्रशासन कार्यालय धनुषा बाधक बनेको छ ।
करार सम्झौता अनुरुप घर खाली गर्नुपुर्व १ महिनाअघि अन्सारीले घरधनीलाई सूचना पठाए । कार्यालय किन सार्न लगाएको भन्दै त्यसको भोलिपल्ट घरधनीले कार्यालयमै आएर धम्कीदिँदै दुर्वव्यहार गरेको प्रमुख अन्सारीले बताए ।
‘कार्यालय सार्ने प्रयास गरे तिमीलाई यहाँ बस्न दिन्न, कुट्छु, झुटो मुद्दामा फसाउँछु भनी धम्की दिएपछि मैले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरे,’ उनले भने ।
धम्की दिएपछि घरधनीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिँद कुनै सुनवाइ नगरी उल्टै प्रमुख जिल्ला अधिकारी प्रदिप कणेलले हप्काएको उनले गुनासो पोखे । घरधनीलाई पक्राउ गर्नुको सट्टा प्रमुख जिल्ला अधिकारी प्रदेश कणेलले उल्टै धम्की दिँदै कार्यालय नसार्न दबाब दिएको उनले सुनाए ।
‘तपाईँले कार्यालय किन सार्ने, तपाईँलाई कार्यालय सार्ने अधिकार छ ? छोड दिनुस नसारौँ भनी सिडियो कणेलले भनेका थिए,’ अन्सारीले थपे, ‘सिडियोले कार्यलय नसारी समन्वय गर्न भौतिक पुर्वाधार तथा यतायात मन्त्री रघुबिर महासेठसँग कुरा भएको बताएका थिए ।’
प्रमुख जिल्ला अधिकारी कणेलको दबाबपछि जिल्ला प्रशान कार्यालयकै अधिकृत दिनेश साहले कार्यालय सार्ने प्रयास गरे थुन्ने धम्की दिएको अन्सारीले बताए । तर प्रमुख जिल्ला अधिकारी कणेलले भने आफुले कार्यालय नसार्न कुनै दबाब नदिएको दावी गरे । ‘श्रम कार्यालय सेवाग्राहीलाई पायक पर्ने उपयुक्त ठाउँमा सार्नुपर्छ । मैले किन दबाब दिन्छु ?’, उनले भने ।
मुरली चोक र क्याम्पस चोकको बीचमा रहेको श्रम कार्यालय सेवाग्राहीको चाप धान्न नसकेको भन्दै शहर भन्दा टाढा गणेश पार्टी प्यालेसमा कार्यालय सारिएको थियो ।