प्रदेश २ को प्रदेशसभाले आचरण अनुगमन समिति गठन गरेको छ ।आज (मंगलवार) बसेको प्रदेशसभा बैठकमा सभामुख सरोज यादवले पेश गरेको आचरण अनुगमन प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको हो ।
मुख्य र प्रमुख सचेतकको सिफारिसमा गठन भएको ८ सदस्यीय अनुगमन समितीमा सभामुख यादव सभापति र उपसभामुख उपमा देव उपसभापति रहेका छन् । यस्तै सदस्यहरुमा प्रदेशसभा सदस्य रविन्द्र बैठा, राम अशिष यादव, सुरिता साह, उपेन्द्र प्रसाद कुशवाहा, सावित्री देवी साह र प्रदेशसभासचिव सदस्य सचिव रहेका छन् ।प्रदेशसभा सदस्यको आचरण र व्यवहार अनुगमन गरी समितीले कार्बाही गर्न सक्नेछ ।
आज दिउँसो बसेको बैठकमा प्रादेशिक सडक निर्माण, संभार तथा विस्तार गर्ने समबन्धमा बनेको विधेयक संसदीय विशेष समितिमा दफावार छलफलकालागि पठाइएको छ । भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले संसदीय विशेष समितीमा पठाइयोस भनी पेश गरेको प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको हो । समितिमा प्रदेशसभा सांसद उपेन्द्र कुश्वाहा, परमेशशवर साह, सुन्दर बहादुर विश्कर्मा र शैलेन्द्र प्रसाद यादव रहेका छन् । समितिको कार्यअवधि कार्य प्रारम्भ भएदेखि १५ दिनको रहेको छ । समितिका सदस्यहरुले आफूमध्येबाट एक जना सभापति चयन गर्ने छ । समितिले आवश्यक परेमा विशेषज्ञ लगायत सम्बन्धित अन्य व्यक्तिको सहयोग लिने वा गोष्टि वा अन्तरक्रिया गर्न सक्ने छ ।समितिले विधेकमाथि अध्ययन गरी प्रदेशसभामा प्रतिवेदन पेश गर्नुपर्ने छ ।
यस्तै प्रदेश एफएम रेडियो तथा टेलिभिजन सन्चालन सबन्धमा बनेको विधेयक समेत दफावार छलफलकालागि सम्बन्धित समितिमा पठाइएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले पेश गरेको सो विधेयक दफावार छलफलकालागि पठाइयोस भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको हो ।
यसैगरी संस्था दर्ताकालागि बनेको विधेयक पनि दफावार छलफलकालागि सम्बन्धित समितिमा पठाइएको छ । मन्त्री यादवले प्रदेशसभामा सो विधेयक समबन्धीत समितीमा दफावार छलफलकालागि पठाइयोस भनी पेश गरेको प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको छ ।