प्रदेश २ का प्रदेशसभा सदस्य शत्रुधन महतोलाई पार्टीले निलम्बन गर्ने निर्णय गरेपछि नेकपाभित्र विवाद उत्पन्न भएको छ।
नेकपा संसदीय बोर्डले धनुषा निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य महतोलाई निलम्बन गर्न सभामुखलाई पत्र पठाएपछि विवाद चर्किएको हो।
नेकपाले सार्वजनिक लेखा समितिको संयोजक पदका लागि आधिकारीक उम्मेदवार भरत साहलाई छनौट गरिसक्दा पनि बागी उम्मेदवारी दर्ता गरेर अनुशासन उल्लंघन गरेको भनदै १५ दिनको लागि उनलाई निलम्बन गरेको हो।
नेकपा संसदीय बोर्डको निर्णय विपरित सार्वजनिक लेखा समितिको संयोजकमा बागी उम्मेदवारी दिएर विद्रोह गरेको र अनुशासनहीन कार्य गरेकाले १५ दिनका लागि निलम्बन गरिएको नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डलले जानकारी दिए। गत शुक्रबार सभामुख सरोजकुमार यादवलाई नेकपा संसदीय बोर्डको निर्णय जानकारी गराइएको नेता मण्डलले बताए।
तर प्रदेशसभा सदस्य महतोले भने निलम्बन गरिएको बारे आधिकारिक कुनै जानकारी आइनसकेको बताए। ‘म पार्टीको केन्द्रीय सदस्य हुँ यसबारे सचिवालयले निर्णय गर्ने हो, अहिलेसम्म सचिबालय बैठक बोलाइएको छैन’ उनले भने। उनले संसदीय दलका नेता मण्डल गुटउपगुटमा लागेर विगतमा भएका सहमति र दलको निर्णयविपरित हिँडेको आरोप लगाए।
पार्टीको प्रमुख सचेतक तथा सचेत सल्लाह गरेर चयन गर्ने सहमति भए पनि नेता मण्डलले त्यस विपरित प्रमुख सचेतक नियुक्त गरेको उनको भनाई छ। लेखा समितिको सभापतिमा उम्मेदवारी दिने क्रममा संसदीय दलका नेता मण्डलले कीर्ते हस्ताक्षर गर्न लगाएको उनले बताए।
यता, प्रदेशसभा सभामुख सरोज यादवले महतोलाई निलम्बन गर्न आग्रहसहितको पत्र आफूलाई प्राप्त भएको प्रतिक्रिया दिए। नेकपा संसदीय बोर्डले निर्णय गरे पनि प्रदेशसभा सदस्यलाई निलम्बन गर्न नमिल्ने उनको तर्क छ।