नेपाल र नेपालीको भलो चिताएर खोलिएको गैरआवासीय नेपाली संघ जस्तो पवित्र संस्थाका बारेमा पछिल्लो समय केही टिकाटिप्पणी सुरु भएका छन्। सबैभन्दा महत्वपूर्ण कुरा भनेको विभिन्न निकायबाट यस संस्थाको मुलभूत सिद्धान्तप्रति नै शंका–उपशंका गर्न थालिएको छ।
कसैले यसलाई धनाढ्यहरूको समूह भनेका छन् भने कसैले यसमा राजनीतिकरण हुँदैछ भनेर आरोप लगाएका छन्। हुन त कुनै पनि कामको समर्थन र आलोचना हुनु स्वाभाविक हो। आलोचना हुँदैमा आत्तिनु पनि पर्दैन। मेरो बुझाइमा त्यस्ता आलोचनाले संस्थाको कमजोरी हटाउन मद्धत गर्दछ। तर आलोचनामा सत्यको अंश बढी भएमा गम्भीर रुपले विचार गर्नैपर्ने हुन्छ।
यो संस्थामा पछिल्लो समय राजनीतिक विचारले ठूलो असर पारिरहेको छ भन्नेमा कसैको दुईमत नहोला। संघमा आबद्ध साथीहरूले यसलाई बेलैमा विचार गरी यो पवित्र संस्थालाई जोगाउनु पर्दछ। यसपालिको विजया दशमीमा मेरो यही शुभकामना छ कि यस संघको पवित्रतामा कोही कसैबाट घात नहोस्।
राजनीति गर्नका लागि दलहरू नै काफी छन्। संघमा बसेर राजनीति गर्दा यसको पबित्रतामा असर पर्दछ। राजनीतिमा रुची हुनेहरूका लागि राजनीतिक दलहरू छँदैछन्। संघका आबद्ध सबैले के कुरामा ध्यान दिनुपर्दछ भने धर्म र जातीयताका कुरा संघभित्र ल्याएर साम्प्रदायिक नबनाऊँ। हरेक धर्म र जातका सँस्कृति जोगाउने र प्रष्ट्याउने एनआरएनएमा प्रशस्त ठाउँ छन्। तर साम्प्रदायिकको रोग यस संस्थामा ल्याउनु हुँदैन। हामीले कसैलाई तैँले के गरिस् भनेर औलो ठड्याउनु पहिलो ऐना अगाडि उभिएर आफैँसँग प्रश्न गरौँ कि मैले समाजको लागि के गरें?
एनआरएनका अग्रजहरूसँग भलाकुसारी हुँदा यसलाई अझ बढी प्रजातान्त्रिक बनाउने सम्बन्धमा सुझाव पनि दिएको छु। तर अफसोच एनआरएनको दायरा फराकिलो हुन सकेको छैन। एनआरएनको परिकल्पना गर्नु नेपाल र गैरआवासीय नेपालीका लागि साह्रै महत्वपूर्ण कुरो हो। यो एउटा पवित्र मन्दिर जस्तो थियो जहाँ राजनीति रूपी जुत्ता बाहिर नै फुकालेर जानु पथ्र्यो।
एनआरएन धनाढ्यहरूको क्लब जस्तो देखिन थाल्यो भनेर केही वर्षअघि मिडियाले लगाएको आरोप अहिले सत्यजस्तो लाग्न थालेको छ। समयमै विचार गरिएन भने यस संस्थाप्रति आस्थवान व्यक्तिहरूले चासो दिन छाड्नेछन्। एनआरएनप्रति आस्थावान भएका तर आर्थिक रुपले कमजोर नेपाली पनि यस्तो संस्थालाई कसरी नेतृत्व दिने, कसरी यसको विकास गर्ने, कसरी नयाँ विचारहरूलाई भित्र्याउने भन्ने प्रचुर अनुभव भएका विद्वानहरू मध्यपूर्व, यूरोप, अमेरिका, एसिया प्यासिफिकमा जति पनि छन्। तर अवसर र पहुँच अभावले अगाडि आउन सकेका छैनन्। एनआरएनमा आर्थिक रुपले कमजोर भएका योग्य समाजसेवीको पनि प्रतिनिधित्व हुनुपर्छ भन्ने अग्रजहरूले ध्यान दिउन्।
हुन त एनआरएनमा राजनीतिक चलखेल हुनु हुँदैन भनेर सबैले भन्छन्। तर पनि अग्रजहरूले नै राजनीतिलाई मलजल गरेका छन्। संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोदेखि पूर्ब अध्यक्ष देवमान हिराचनको समयसम्म राजनीतिले छोएको देखिएन। तर हिराचनले दोस्रो कार्यकाल नेतृत्व लिन खोज्दा हिराचन र जीवा लामिछानेबीचको प्रतिस्पर्धामा प्रष्टै रुपमा राजनीतिको प्रवेश देखियो। एनआरएका अग्रजहरू नेतृत्व हात पार्नका लागि नेपालका नेताहरूको ढोका ढोकामा पुगेको देखियो। अन्ततः हिराचनलाई पछाडि हट्न बाध्य बनाइयो र जीवाजी निर्बिरोध अध्यक्ष चयन हुनु भयो।
त्यसपछि तेन्सी शेर्पा र शेष घलेबीचको प्रतिस्पर्धामा बेस्सरी राजनीति पसेको देखियो। अर्थात् हिजोआज एनआरएन राष्ट्रिय समिति होस् वा अन्तर्राष्ट्रिय समिति राजनीति र पैसाको खोलो नबगेको छँदै छैन। एनआरएनमा राजनीति नपसोस् भनी विधानमै प्रष्ट उल्लेख गरियो तर विधानविपरित कार्य हुँदा पनि राजनीतिक बिषयलाई लिएर कहिल्यै कुनै कारवाही भएको देखिएन। हालको गैरआवासीय नेपाली संघ कार्य समितिको कार्यकाल सकिनै लागेको छ। केही महत्वपूर्ण कार्य अझै छन् जुन हालको कार्यसमितिले हतारमा गर्नुपर्ने देखिन्छ।मेरो विचारमा एनआरएन अझै प्रजातान्त्रिक भएको छैन।
संघमा अध्यक्षको प्रत्यासी हुन आर्थिक रुपमा सम्पन्न हुनुपर्ने बिडम्बना छ। कहिलेसम्म मल्टीमिलियनर खोजी हिड्ने? अहिले हेर्ने हो भन्ने गैरआवासीय नेपाली संघको अध्यक्षको पदमा अरु सबै किसिमले योग्य भए पनि आर्थिक रुपले कमजोर व्यक्ति अयोग्य देखिने गरेको छ। तर आर्थिक रुपले सम्पन्न भएमा अन्य हिसाबले अयोग्य भए पनि नेतृत्वका लागि योग्य हुने सम्भावना उत्तिकै छ।
हालको कार्यसमितिले नेतृत्वका लागि आकांक्षीहरू मध्ये कोही सबै किसिमले योग्य छ तर आर्थिक स्थितिले कमजोर छ भने त्यसैका नाममा रोक्नु हुँदैन। उसलाई नेतृत्वमा आउने बाटो खोलिदिनु पर्छ। संघमा आर्थिक कोषको पनि ब्यवस्था गर्नुपर्छ। संघप्रति आस्था राख्ने धनाढ्यहरूले निश्चित रकम सो कोषमा जम्मा गर्ने र अन्य सर्बसाधारणले सक्दो सहयोग गर्नुपर्छ। यतिमात्र होइन,हरेक दुई वर्षमा हुने संघको अधिवेशनमा सहभागी दर्ता शुल्कको केही प्रतिशत रकम सो कोषमा जम्मा गर्ने व्यबस्था मिलाउनु पर्दछ।
जुन रकम आवश्यक परेका बेला कार्य समितिको अनुमोदनमा खर्च गर्ने व्यवस्था मिलाउनु पर्दछ। उदाहरणका लागि कुनै कार्यक्रममा सहभागी हुन जाँदा अध्यक्षलाई आबश्यक भएमा अथवा संघको तर्फबाट कहिंकतै अनुदान दिनुपर्ने भएमा खर्च गर्न मिल्ने बनाउनु पर्दछ। संघका अग्रजहरूले यस्तो कोष खडा गरी कुनै पनि योग्य व्यक्तिलाई अध्यक्ष हुन सक्ने प्रजातान्त्रिक वातावरण बनाइदिएमा एउटा ठूलो क्रान्ति हुने थियो।
दुई वर्षअघि प्रवेश शुल्क र एनआरएनएको पदमा प्रत्यासी हुनका लागि बुझाउनु पर्ने रकमले पनि यो संस्था धनीहरूको मात्र हो भन्ने तर्क बलियो हुँदै गएको छ। जसको पटक–पटक बिरोध हुँदा पनि सुनुवाइ भएको छैन। यही ढंगबाट संघका सदस्यहरूमा आर्थिक बोझ थपिँदै जाने हो भने यो संस्थाबाट हामी जस्ता मध्यम वर्गीयहरूले बिदा लिनु पर्ने हुन्छ।
त्यसकारण गैरआवासीय नेपाली संघ राजनीतिको अखडा र धनाढ्यको क्लव जस्तो हुन गयो भनेर हिजोका दिनमा लाग्ने गरेको आरोप आज आएर सही साबित हुँदैछ। संघको विगतका अधिबेशनमा बगाएको पैसाको खोलो र गतबर्ष लक्जेम्बर्गमा सम्पन्न युरोपियन मिटिङमा भएको एकतर्फी राजनीति दाउपेचले पनि त्यस कुराको पुष्टि गरेको छ।
दोस्रो गम्भीर कुरो, गैरआवासीय नेपाली संघप्रति चासो लिने हामी नेपालबाट विदेशिएका नेपाली मात्र भएका छौं। विदेशमा बस्ने वा जन्मेका हाम्रा सन्तानलाई यस संस्थाप्रति कुनै चासो नहुनु चिन्ताको विषय हो। नयाँँ पुस्ताको यसमा न कुनै चासो छ न त सहभागिता नै। नयाँपुस्तालाई यसप्रति कसरी आकर्षित गर्ने भन्ने महत्वपूर्ण विषयमा कसैको ध्यान गएको छैन। यसमा संघका अग्रजहरूले समयमै ध्यान दिन सकेनन् भने यो संस्था नयाँ पुस्तामा हस्तान्तरण होला जस्तो लाग्दैन। हुन त संघले युवा पुस्तालाई आकर्षित गर्ने त्यस्तो कुनै कार्यक्रम पनि बनाएको छैन।
मेरो छोराछोरी डच मात्र बोल्छन्। जर्मनका मित्रहरूका छोराछोरी जर्मन मात्र बोल्छन्। रसियाकाहरूले रसियन मात्र बोल्छन्। अहिलेदेखि नै ध्यान दिएनौं भने हाम्रा छोराछोरीलाई यस संस्थासँग किन रूचि हुनु प¥यो?त्यसकारण अहिलेदेखि नै यसतर्फ विचार पु¥याएनौं भने यस संस्थाको भविष्य धेरै छैन। गैरआवासीय नेपाली युवा संघको ध्यान पनि यसतर्फ जाओस्।