शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्छ। लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै यसलाई अझ परिणाममुखी बनाउन आवश्यक छ।
कतै हाम्रो कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम त भइरहेको छैन? मलाई लाग्छ यसो हुनुमा निश्चय नै अनेक कारण छन्। तर हाम्रा कमजोरी पनि त्यसका कारण हुन्। अतःत्यसलाई हाम्रो राजनीतिक निष्ठाले जित्नुपर्छ। गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तन मात्र होइन, यो त जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो, यो त संस्कार, संस्कृति, आनीबानी र व्यवहार मात्रै होइन आचरणमा परिवर्तन पनि हो।
राजनीतिकरुपमा जनताको सर्वोत्तम उपलब्धि ‘गणतन्त्र’ हामीले प्राप्त गरेका छौँ, तर गणतन्त्रको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै छ जस्तो मलाई लाग्छ। हामी सबैले मिलेर लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण चरण पार गरेको र वर्तमान संविधानले निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेको मात्र नभई वास्तविक अर्थमा नेपाली जनतालाई राजकीय शक्तिको मालिक बनाएका छौं।
हाम्रो संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको हो, अधिकारका विभिन्न प्रकार उल्लेख गरे पनि नीति सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्र्तय हो।
तर यहाँ व्यवस्था त परिवर्तन भयो हाम्रो देश समाज र जनसामान्यको अवस्थामा भने अझै परिवर्तन हुन सकेको छैन। प्रशासनिकरूपमा राज्यको पुनःसंरचना ग¥यौँ, तल्लोभन्दा तल्लो तहमा रहेका जनताको पहुँचमा राज्यसत्ता पुगेको छ, तर राज्यको चरित्रको भने पुनःसंरचना हुन अझै बाँकी छ।
सुखद भविश्य प्राप्त गर्न हामीले राजनीतिक उपलब्धिलाई जोगाउँदै र संविधानको रक्षा गर्दै अगाडि जानुको विकल्प छैन। हिमाल, पहाड, तराईको अनुपम भौगोलिक संरचनाको हाम्रो बहुजाति, बहुभाषी, बहुसंस्कृति र विभिन्न सम्प्रदायलाई संविधानले समान संरक्षण प्रदान गरेको छ। यस्तो अवस्थामा नेपालीबीच रहेको आपसी सद्भाव र भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोही कसैबाट हुने छैन भन्ने मेरो विश्वास छ।
संविधानको कार्यान्वनसँगै नेपाली जनताको सुखद भविष्यको सुरु भएको छ। लोकतान्त्रिक निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनोट भई अहिले संविधानतः तीनै तहका सरकारहरू बनेका छन्। यी निश्चय नै हाम्रा लागि धेरै ठूला र ऐतिहासिक उपलब्धि हुन्। यिनै उपलब्धिका जगमा हाम्रो भविष्यको सुखद यात्रा प्रारम्भ भएको छ भन्ने मैले विश्वास लिएको छु।
नेपाली मौलिकतासहितको एक विशिष्ट र विश्वको उन्नत राष्ट्र बनाउने प्रचुर सम्भावना छ। यो निकै महत्वपूर्ण अवसर हो तर हामीले आफ्नो आचरण, चरित्रमा व्यापक सुधार गरेर लोकतान्त्रिक संस्कारको जग बसालेर कुशलतापूर्वक मेहनत गरेमा मात्र त्यो सम्भव छ।
अहिले जनआन्दोलनका उपलब्धिमाथि फेरि कहीँकतैबाट कमजोर बनाउने काम नहोस् भन्नेमा सचेत हुनुपर्दछ। जनअनुमोदित संविधानसभाबाट निर्माण भएको लोकतान्त्रिक संविधानका व्यवस्थालाई निस्तेज पार्ने काम कतैबाट हुन नपाओस् भन्नेमा पनि हामी चनाखो हुनैपर्छ। यस्तो अवस्था किन र कसरी आउन सक्छ? यो प्रश्नमा हामी सबै जिम्मेवार हुनु आवश्यक ठान्दछु।
हाम्रो संस्कृति र प्रकृतिले हामीलाई देशमा रोजगारी र आम्दानी दिने असीमित सम्भावनाको ढोका खोलेको छ। सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनका माध्यमबाट हाम्रो जलस्रोत र ऊर्जा शक्तिको मात्र उचित व्यवस्थापन गर्नसके नेपाल दुनियाँको समुन्नत राष्ट्रको कोटीमा पुग्ने सम्भावना अगाडि देखापरेको छ।
सुशासन नै हाम्रो अमनचयन, विकास र समृद्धिको आधार भएकाले उल्लेखित सबै क्षेत्रमा सुधारको आवश्यकता छ। यसका लागि सन्तुलित र प्रभावकारी परराष्ट्र नीतिका माध्यमबाट द्विपक्षीय र बहुपक्षीय अन्तर्राष्ट्रिय सम्बन्धलाई अझै सुदृढ गरी राष्ट्रिय अर्थतन्त्रलाई सवलीकरण गर्दै युवा जनशक्तिलाई देशभित्रै रोजगारी र आम्दानीका अवसर सिर्जना गर्नुपर्छ।
जलवायु परिवर्तनको प्रभावका कारण विगत केही वर्षयता प्राकृतिक प्रकोपले विश्वलाई अत्यन्तै बढी प्रभावित पारिरहेको छ। जलवायु परिवर्तनको प्रभावन्यूनीकरणका लागि विश्व समुदायलाई साथ लिँदै अगाडि बढ्नु अहिलेको अर्को महत्त्वपूर्ण आवश्यकता हो।
समयले हामीलाई जुन दायित्व दिएको छ, त्यो दायित्व पूरा गर्न तथा राज्य व्यवस्थाका हरेक आयाममा देखिने अव्यवस्थालाई हटाएर लोकतान्त्रिक मूल्यको संस्कार विकास गरी समाजको समग्र रूपान्तरण गर्न अब एकताबद्ध बनौँ र यसका लागि आजै ऐतिहासिक सङ्कल्प गरौँ।
आफूले निर्वाचित गरेका जनप्रतिनिधिमार्फत आफ्नो संविधान आफैँ लेख्ने नेपाली जनताको सात दशकभन्दा बढी लामो आन्दोलन, त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको छ। गौरवमय क्षणमो लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु।
आन्दोलनका क्रममा जेल, नेल, निर्वासनसहित अनेकौँ यातना सहने र जस्तै कष्टमा पनि अविचलित भई परिवर्तनका पक्षमा क्रियाशील हुने लोकतन्त्रका योद्धालाई उनले अपार सम्मानसहित हृदयबाट नै धन्यवाद र आभार व्यक्त गर्दछु। लोकतान्त्रिक आन्दोलनका अग्रज नेताहरूलाई यो अवसरमा सम्मानपूर्वक स्मरण गर्न चाहन्छु।
(संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८० को उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित समारोहमा पौडेलद्धारा व्यक्त बिचार)