त्यो कलैया नगर नगिचैको बैरिया मेरो गाउँ
सडकका अगल र बगलमा सिस्नोको झाडी
खाल्डा र खुल्डी धुलो अनि हुरी
बिहानीपख सैरमा हिँडेको त्यो क्षण
फर्कदा मुखमा नीमको दतिवन
अनि त्यो चोकको चिया
राष्ट्रिय अन्तर्राष्ट्रिय गफमा मस्त
मुकुन्द काका र श्रीराम दाइ
प्रयाग चाचा र जोगिन्दर भाइ
अब विदेशमा किन मेरो आँखा
यसरी रसाइरहेको छ
आज किन किन मलाई मेरो देश मेरो गाउँ
याद आइरहेछ
: : :
आँगनमा ईनार अनि मन्दिर तथा तुलसीका ती बोटहरु
राम राम र कृष्ण कृष्ण लेखिएका ती भित्ताहरु
त्रिपुण्ड लगाई ध्यानमग्न मेरी बुढी हजुरामा
छोरो कहिले फर्कला भनी
सडकतर्फ हेरिरहेकी मेरी आमा
बरन्डामा सोचमा डुबिरहेका मेरा बूढाबाबु
ढोकामा दूधको बाल्टिन लिई उभिरहेको
त्यो दरबारी राउत
अनि छिमेकी भाउजुको ठूलो हाँसोको स्वर
आदि आदिको सम्झनाले
अब निकै सताइरहेको छ
आज किन किन मलाई मेरो देश मेरो गाउँ
याद आइरहेको छ
: : :
घरि नरहरि कहाँ
घरि मणिराज कहाँ
घरि विवेकानन्दजी कहाँ
भने घरि विशाल कहाँ
न कुनै ’एग्रिमेन्ट’
न कुनै ’अप्वाण्टमेण्ट’
न कुनै ’हेल्लो’ र ’थैंक यू’ को औपचारिकता नै
सबै एकजुट भई भैंसीमा चढी
सर्हैया पोखरीमा डुबुल्की लगाउँथ्यौं
चकचन्नाम चोरेको त्यो काँक्रो र भोगटेहरु
कतै खलिहानमा लुकेर खान्थ्यौं
अब सबै सपना भई यहाँ
मन बिचलित गराइरहेको छ
आज किन किन मलाई मेरो देश मेरो गाउँ
याद आइरहेको छ
: : :
टुलिपै टुलिपले भरिएको देश
छैन लालीगुराँस यहाँ
सुन्न पाइन्छ र भोजपुरी गीत नै कहाँ
गयो दशैँ, आयो तिहार
न पकवान पाएँ मैले
न कुनै फलहार
न आँगन छ न दैलो
न देउँसी न भैलो
के छ त यहाँ ?
हातमा हेनेकन बियर
आँखामा टियर
ओ माई डियर, हियर ?
नोबडी केयर
जिन्दगी मेसिनजस्तै भयो
सँधै हतार हतारमा
झिम्मिक्क रात बित्छ
उही झिल्के बारमा
चौरासी ब्यन्जन्ले भरिएको अगाडि
डाइनिङ टेबुल भए तापनि
उही तामा र गुन्द्रुकको स्वादले
लोभ्याइरहेको छ
आज किन किन मलाई मेरो देश मेरो गाउँ
याद आइरहेको छ।
(कवि पौडेलले सन् १९८६ मा नेदरल्याण्डको क्राइनेस्ट भन्ने ठाउँको क्रालनवैक भवनमा एक्लै नियास्रो भई बसी जन्मस्थानको सम्झनाले सताउँदा लेखेका हुन्।)