घुस
मन्दिर माथि ठाउँ पाए गजुर हुने
कुर्सी माथि बस्न पाए हजुर हुने
जनताले पाए ताडको फल खाने कसरी
आफुले खाने फल भने खजुर हुने
नक्कचरो भएर नाचेछन् आफैं बजारमा
नाच्नै असाध्यै मन लागे बरु मजुर हुने
कता हराएछ हाम्रो लोकतन्त्र हरे पशुपति
सर्वसाधारणले हल्ला गरे कसूर हुने
चाहिने सबै सुबिधा पाएकै छौ नेता
तैपनि किन घुस खान मजबूर हुने ।
आश्वासन
तिमीले ठानेको होलाउ म बेकार जस्तो छु
तिम्रै हेरबिचार गर्ने म परिवार जस्तो छु
सोचे छौ मलाई पनि क्वाप्प खाइदिउँला भनी
लागेको होला तिमीलाई म शिकार जस्तो छु
न बिकेको छु उहिले न बिक्ने नै छु कहिले
नसम्झनु कि मोल लाग्ने म बजार जस्तो छु
अझै ठाउँ छ यस मुटुमा देउ जतिदिन्छौ घाउ
सहनशक्ति छ मेरो तनमा म उदार जस्तो छु
बचन दिए छु भने पूरा गर्ने छ अठोट पनि
नसोच्नु आश्वासन दिने म सरकार जस्तो छु