चलचित्र अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्रले स्वदेशमा प्रदर्शनको लागि असहजता महसुस गरेको सुनिनु दु:खद रहेको बताएका छन् ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुन गइरहेको सातौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले सम्बन्धित निकायले प्रदर्शनमा सहजता नदिलाए विस्तारै निर्माताको मनोबल घट्ने बताए ।
उनले नेपालको ३३ जिल्लामा चलचित्र भवन नरहेको बताउँदै भएका भवनमासमेत नेपाली चलचित्र प्राथमिकतामा नपर्नु दुःखद रहेको बताए । बजारका दृष्टिकोणबाट पनि चलचित्र उद्योगलाई निकै सङ्कुचित ढङ्गले खुम्चाएर राखेको अवस्था रहेको अभिनेता तथा निर्देशक शाहको भनाइ थियो । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफूले चाहेर पनि सोचेजस्तो काम गर्न नसकेको स्वीकार्दै नीति बनेपछि समस्या समाधान हुने बताए ।
नेपालमा स्वदेशी चलचित्र प्राथमिकतामा नपरेको र चलचित्र भवनले सो सङ्ख्यामा भेद्भाव गरेको भन्दै बेलाबखतमा आन्दोलन भए पनि त्यसले उचित नतिजा दिन सकेको छैन ।
गत पुस २७ मा प्रदर्शन भएको चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ का निर्देशक दीपक श्रेष्ठले मल्टिप्लेक्समा वितरण हुने सङ्ख्या चलचित्रलाई प्रभाव परिरहेको बताए ।