आन्तरिक राजस्व कार्यालय जनकपुरले आव ०७५/७६ मा लक्ष्यभन्दा १० प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
आव ०७५/७६ मा कार्यालयले ३ अर्ब २९ करोड राजस्व असुलेको हो । कार्यालयले २ अर्ब ९८ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयका अधिकृत रामप्रकाश महतोका अनुसार आयकरमा सबैभन्दा बढी १ अर्ब ४० करोड रुपैयाँ असुल भएको छ ।
आयकरमा कार्यालयले १ अर्ब २२ करोड राजस्व असुली गर्ने लक्ष्य लिएको थियो । मूल्यअभिभृद्धि करमा ८२ करोड असुल गर्ने लक्ष्य लिएकामा कार्यालयले ९२ करोड राजस्व असुलेको छ । अन्त:शुल्कमा ८८ करोड रुपैयाँ असुल्ने लक्ष्य लिएकामा मात्र ७७ करोड राजस्व असुल गरेको हो ।
डिस्टलरी उद्योग बन्द भएकाले लक्ष्यभन्दा कम अन्त:शुल्क असुल भएको अधिकृत महतोले बताए । यस्तै ब्याज करमा ५ करोड ५३ लाख असुल गर्ने लक्ष्य लिएकामा ७ करोड ३० लाख राजस्व असुल भएको छ । आन्तरिक राजस्व कार्यालय जनकपुरधाममा धनुषा, महोत्तरी, सर्लाही र सिन्धुलीका करदाताले कर तिर्ने गरेका छन् ।