स्थानीय खेलाडीको मनोबल बढाउन जनकपुरमा टि–२० क्रिकेट लिग हुने भएको छ ।
धनुषा क्रिकेट एसोसिएसन र हरिज स्पोट्र्स जोनले संयुक्त रूपमा वैशाख ३१ देखि लिगको आयोजना गर्न लागेको हो । लिगमा धनुषा, महोत्तरी, सिरहा र सर्लाहीलगायत करिब ६० स्थानीय टोलीबीच प्रतिस्पर्धा हुने आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जनाएको छ ।
पत्रकार सम्मेलनमा धनुषा क्रिकेट संघका उपाध्यक्ष शोभाकान्त पाण्डेयले स्थानीय खेलाडीमा इच्छा र क्षमता भए पनि उनीहरूलाई अवसर अभावमा खेलबाट वञ्चित रहनुपरेको बताए । ‘सहिद कप, आईपीएल जस्ता क्रिकेट देखेर गाउँ तथा सहरका स्थानीय युवा पनि अन्तर्राष्ट्रिय स्तरमा पुग्न चाहन्छन्, उनीहरूलाई मध्यनजर गरी लिगको आयोजना गर्न लागेका छौं,’ उनले भने ।
उनले इच्छुक जुनसुकै स्थानीय टिम लिगमा सहभागी हुन पाउने जानकारी दिए । विजेता टिमलाइ ५० हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिने उनले जनाए । यस्तै दोस्रो हुनेलाई २५ हजार र ट्रफी प्रदान गरिनेछ । ८ लाख रुपैयाँभन्दा बढी खर्च हुने प्रतियोगिताका लागि स्थानीय र प्रदेश सरकारका साथै विभिन्न संघ–संस्था र दाताहरूलाई सहयोगको आग्रह गरिएका छ ।