क्यामरुनी फुटबल टिम दाउफिन्सलाई हराउँदै घरेलु टिम मकवानपुर–११ ले दोस्रो सहिद स्मृति मकवानपुर गोल्ड कपमा कब्जा जमाएको छ ।
शनिबार दिउँसो हेटौँडाको वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा भएको मकवानपुर गोल्ड कपको फाइनल खेलमा मकवानपुर–११ ले जीत हासिल गरेको हो । घरेलु टिमले क्यामरुनी टोली दाउफिन्सलाई २–१ को गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफको ५ मिनेटमै क्यामरुनी टिम दाउफिन्सले मकवानपुर–११ लाई गोल गरेपछि निराश दर्शकहरुका सामु मकवानपुरले ९ मिनेटमै गोलको बदला लिएपछि खेलको रौनक बढेको थियो । क्यामरुनी टिम दाउफिन्सका यानी ओवानाले ५ मिनेटमै गरेको गोलको बदलामा मकवानपुर–११ का योगेश गुरुङले ९ मिनेटमा गोलको जबाफ गोलबाटै दिए ।
तीब्र प्रतिस्पर्धामा दोस्रो हाफको ८२ औँ मिनेटमा फेरि मकवानपुर–११ का योगेशले प्रहार गरेको गोलले जाली चुमेपछि घरेलु दर्शक हेटौँडेलीहरुमा उत्साह छायो । खेलको अन्ततिर योगेशले प्रहार गरेको गोल नै निर्णायक बन्यो ।
विजयी मकवानपुर ११ ले रु ८ लाख सहित विभिन्न पुरस्कार प्राप्त गरेको छ । आयोजक मकवानपुर जिल्ला फुटबल संघका अनुसार १० वटा टिमले सहभागिता जनाएको मकवानपुर गोल्डकपमा भूगर्भ सिमेन्ट मुख्य प्रायोजकको रुपमा रहेको छ भने स्थानीय सरकार र विभिन्न सह–प्रायोजकहरु रहेका छन् ।