मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारका जेलर घुस रकमसहित शुक्रबार दिउँसो पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले जेलर मदन अधिकारीलाई भीमफेदीस्थित क्वार्टरबाट ७५ हजार रुपियाँ घुस रकमसहित पक्राउ गरेको हो । आयोगका सूचना अधिकारी देवकुमार राईका अनुसार जेलका चौकीदारसँग घुस नदिए सरुवा गरिदिन्छु भन्दै उनले रकम माग गरेका थिए ।
घुस रकमसहित पक्राउ परेका उनलाई रकम बरामदी मुचुल्कालगायत कागजपत्र तयार गरी हेटौँडा ल्याउने तयारी भइरहेको छ । अदालतसँग केही दिनको म्याद थप गरी अनुसन्धान गरिने र छिट्टै उनीबिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिने सूचना अधिकारी राईले जानकारी दिए ।