मकवानपुर प्रहरीले लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका १५ स्थित राजमार्गमा सबारी जाँच गर्दा बीरगन्जबाट हेटौँडा आउँदै गरेको ना ७ ख ९०३५ नं वको बसमा सबार यात्रुबाट १२ सय ट्याब्लेट लागूऔषध नाइट्रोभेट, २ बोत्तल कोरेक्स र ४५ क्याप्सुल स्पास्मो प्रोक्सिभन प्लस नामक लागूऔषध फेला पारिएको हो ।
भरतपुर महानगरपालिका १८ भुवनबस्ती निबासी अर्जुन थापा मगरको शरीर खानतलासी गर्दा कालो प्लाष्टिकमा बेरेर ल्याएको अबस्थामा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइएको मकवानपुरका प्रहरी प्रबक्ता एबम् प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भट्टराईले बताए ।
यसैगरी लागूऔषध कारोबार भइरहेको बिशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगपालिका ३ लेवटबाट ४० किलोग्राम गाँजासहित तीनजनालाई पक्रेको छ ।
हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको बीआर २९ बी ४५८१ नं को भारतीय कारको सीटमुनि लुकाइ छिपाइ राखेको अबस्थामा १८ पोका गाँजा फेला परेको हो । पक्राउ पर्नेहरुमा भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी ग्राम सुरहा वडा नं ५ का २१ बर्षीया महम एकरामोदिन, सोही स्थानका जाबेद आलम र शान्तिदेवी नुनिया रहेका छन् ।