मकवानपुरको विकट कैलाश गाउँपालिकाका गर्भवती र सुत्केरी महिलालाई मोबाइल एप्स प्रयोग गरी प्रसूति सेवा दिन सुरु भएको छ।
कैलाश गाउँपालिकाभित्र रहेका ५ वटा स्वास्थ्य चौकीमार्फत यस्तो व्यवस्था मिलाइएको हो। गाउँपालिकाले एप्स निर्माण गरी ५ वटै स्वास्थ्यचौकीमा एप्ससहितको मोबाइल बितरण गरेको छ। वितरित मोबाइलमा रहेको एप्समा आफ्नो सेवा क्षेत्रमा रहेका गर्भवती र सुत्केरीबारेको विवरण स्वास्थ्यचौकीमा कार्यरत प्रसुति सेवा हेर्ने कर्मचारीले अद्यावधिक गर्नेछन्।
अद्यावधिक गरिएको बिवरण बमोजिम एप्सले समय अबधिको आधारमा ‘नोटिफिकेसन’ पठाउने र त्यसैअनुसार स्वास्थ्यकर्मीले गर्भवती र सुत्केरीलाई आवश्यक परामर्श र स्याहार गर्नेगरी व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले बताए। ‘स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवा सुविधलाई प्रविधिसँग जोडेर सहज पार्न खोजेका छौँ’, मुक्तानले भने, ‘हामी बिकट र दुर्गममा पनि प्रविधिको उपयोग गरेर जनतालाई सजिलो पर्नेगरी सेवा दिन प्रयासरत छौँ।’ एप्सको प्रयोगबाट सुत्केरी र गर्भवतीको विवरण अद्यावधिक हुने र उनीहरुको स्याहार गर्न सजिलो हुने मुक्तानले बताए ।
गाउँपालिकाले चालू आर्थिक वर्षदेखि एउटा स्वास्थ्य केन्द्रमा बालबालिका जन्म गराउने संख्या ३० भन्दा बढी भएमा प्रति बालबालिका ५ सय रुपियाँका दरले कर्मचारीलाई समेत प्रोत्साहन भत्ता दिने जनाएको छ। ‘स्वास्थ्य संस्थामा बच्चा जन्माउनेको संख्या बृद्धि गर्नका लागि कर्मचारीलाई सक्रिय पार्न यस्तो निर्णय गरेका हौँ’, अध्यक्ष मुक्तानले भने। उनका अनुसार भार्ता, कालिकाटार, नामटार, गोगने र डाँडाखर्क गरी ५ वटा स्वास्थ्य चौकीबीच स्वास्थ्य संस्थामा बच्चा जन्माउने संख्यामा बृद्धि हुनेछ। ५ वटै स्वास्थ्य चौकीमा प्रसूति सेवाका लागि गाउँपालिकाले गर्ने व्यवस्थामा कमी नआउने र संख्या बृद्धि गरेमा कर्मचारीलाई प्रोत्साहन गर्ने नीति गाउँपालिकाको रहेको उनले बताए।
यसैबीच गाउँपालिकाले ५ स्वास्थ्य स्वयम्सेविकाहरुलाई नगदसहित सम्मान गरेको छ। भार्ता स्वास्थ्यचौकीकी कृष्णमाया थिङ, कटुन्जे स्वास्थ्य चौकीकी शुभद्रा प्रजा, नामटार स्वास्थ्य चौकीकी लक्ष्मी रिजाल, गोगने स्वास्थ्य चौकीकी गंगा आलेमगर र डाँडाखर्क स्वास्थ्यचौकीकी सुनमाया नेगीलाई सम्मान गरिएको हो । उनीहरुलाई २१ सय रुपियाँका दरले नगद पुरस्कार प्रदान गरिएको छ।
यस्तै कैलाश गाउँपालिकामा बुधवार कुपोषणसम्बन्धी अभिमुखीकरण भएको छ। स्वास्थ्यकर्मी भोला चौलागाईले सहजीकरण गरेको अभिमुखीकरणमा महिला स्वयम्सेविकाहरु, स्वास्थ्यचौकीका प्रमुखहरु तथा स्वास्थ्यकर्मीहरु सहभागी थिए। कार्यक्रममा गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान र प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीले सहभागीहरुलाई कुपोषण समस्या हटाउन खटिएर काम गर्न कर्मचारी र स्वयम्सेविकाहरुलाई आग्रह गरे।