दश बर्षअघिसम्म अवैध लागूऔषध गाँजाको मात्र खेती गरिरहेका मकवानपुरको दुर्गम भेगका किसानहरुले प्रतिबन्धित अफिम खेतीतिर ध्यान दिएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले संकलन गरेको गाँजा र अफिम खेतीको बिवरणमा गाँजाकै हाराहारीमा अफिम खेती फैलिएको पाइएको हो । १० बर्षअघिसम्म किसानहरुले अफिम खेतीबारे जानकारी पाएका थिएनन् । तर, १० बर्षकै अन्तरालमा गाँजाकै हाराहारीमा अफिम खेती बढेपछि जनप्रतिनिधिसमेत चिन्तित बनेका छन् । प्रतिकेजी १ लाख रुपियाँसम्ममा बिक्री हुने अफिम खेतीमा किसानहरु आकर्षित हुँदै गएको पाइएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालू आर्थिक बर्षमा कूल २२१ बिगाह ४ कठ्ठा जग्गामा गाँजा खेती भएको छ । गाँजा खेतीको आधाआधी परिमाणअर्थात् १०७ बिगाह क्षेत्रमा अफिम खेती भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकले देखाएको छ । मकवानपुरको कैलाश र राक्सिराङ गाउँपालिकाका उच्च पहाडी भेगहरुमा गाँजा र अफिम खेती भइरहेको छ । प्रहरीले अबैध लागूऔषध गाँजा र अफिम नष्ट गर्न योजनाबद्ध ढंगले प्रहरी परिचालन गरिरहेको छ ।
प्रहरीका अनुसार गत असोज १्र८ गतेदेखि २४ गतेसम्म १ सय ९ प्रहरी परिचालन गरी २८ बिगाह १० कट्टामा लगाइएको गाँजा तथा ८ बिगाहको अफिम फँडानी भएको थियो । त्यसैगरी दोस्रो चरणमा ३ सय ६० प्रहरी परिचालन गरी ९९ बिगाह ७ कट्ठा गाँजा र १३ बिगाह अफिम नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अझै ९३ बिगाह ६ कट्ठा जग्गामा लगाइएको गाँजा फँडानी गर्न बाँकी छ । त्यसैगरी ८६ बिगाह जग्गामा लगाइएको अफिम नष्ट गर्नेगरी प्रहरीले पुनः तेस्रो चरणको प्रहरी परिचालन अभियान सुरु गरेको छ ।
अहिले राक्सिराङ र कैलाश गाउँपालिकाभित्र रहेका प्रहरी चौकीमा थप जनशक्ति पठाएर गाँजा र अफिम फँडानीको काम भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए । ‘जुन प्रहरी चौकीको क्षेत्रमा गाँजा र अफिम लगाइएको हो, त्यही चौकीमा थप जनशक्ति पठाएर धमाधम तेस्रो चरणको फँडानी अभियान चलिरहेको छ’, प्रहरी निरीक्षक थापाले भने । उनका अनुसार अबको केही दिनमै गाँजा र अफिम नष्ट गरेर सकिनेछ ।
पछिल्लो समयमा गाँजाभन्दा अफिम खेती गर्नेहरुको संख्या बृद्धि भएको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गाँजा फँडानी भइसकेपछि पनि सोही जग्गामा अफिम रोप्न मिल्ने भएकाले पनि अफिम खेती मौलाएको स्थानीयहरुले बताएका छन् । गाउँगाउँमा अफिम खेती बढ्न थालेपछि सामाजिक गतिविधिहरुमा समेत असर पर्दै गएको कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले बताए ।