बैतडीमा पेट्रोल किन्दा उपभोक्ताहरु चर्को मूल्य तिर्न बाध्य भएका छन्।
सतबाँझमा रहेको जिल्लाको एकमात्र भण्डारी आयल स्टोरले पेट्रोल आयात नगर्दा उपभोक्ताहरुले चर्को मूल्य तिरेर पेट्रोल किन्न बाध्य भएका हुन्। पेट्रोलमा घाटा हुने, तापक्रम पनि नमिल्ने भएकाले पेट्रोल आयात गर्न नसकिएको भण्डारी आयल स्टोरका सञ्चालक लालबहादुर भण्डारीले बताए।
सरकारी मूल्य १०४ रुपैयाँ प्रतिलिटर भएपनि आयल स्टोरले पेट्रोलियम पदार्थ आयात नगर्दा बैतडीका उपभोक्ताहरु १३५ देखि १५० रुपैयाँसम्म तिरेर पेट्रोल किन्न बाध्य भएका छन्। पछिल्लो दुई वर्ष यता उपभोक्ताहरुले चर्को मूल्यमा पेट्रोल किन्नु परिरहेको दशरथचन्द नगरपालिका–१ का अमरबहादुर टेरले बताए।
जिल्लाका खुद्रा पसल, खाद्यान, मदिरा पसललगायतका व्यापारीहरुले पेट्रोल कालोबजारी गरेर बिक्रि गरिरहेको उनले बताए। मिनिरल वाटरको बोतलमा राखिएको एक लिटर पेट्रोलका लागि १५० रुपैयाँ तिर्नुपरेको उनको गुनासो छ। सतबाँझदेखि गोठलापानीसम्म धेरै पसलबाट पेट्रोलको कालोबजारी भइरहेकाले पेट्रोल अभाव भएको र चर्को मूल्य तिर्नु परेको टेरले बताए।
पेट्रोलमा भइरहेको कालोबजारीका विषयमा आयल स्टोर र उदोग वाणिज्य संघका पदाधिकारीहरुसंग छलफल गरेर टुंगोमा पुग्ने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रकाश गैरेले बताए। आफू जिल्लामा आएको दुई–तीन दिन मात्रै भएकाले पेट्रोलको विषयमा छलफल गर्ने उनले बताए।