कपिलवस्तुको कृष्णनगरमा कर्फ्यु जारी गरिएको छ ।लक्ष्मीपूजाको मूर्ति बिसर्जनका क्रममा सुरु भएको दुईपक्षको विवाद हिंसाको तहसम्म पुगेपछि जिल्ला प्रशासन कार्यालयले विहिबार विहान ११ बजे देखि कर्फ्यू लगाएको हो ।
लक्ष्मी पूजाको मूर्ति बिसर्जनका क्रममा भएको विवादले उग्र रुप लिदा प्रहरीको गोली लाागि स्थानिय २० वर्षिय सुरज कुमार पाण्डेको मृत्यु भएको छ ।
कर्फ्यू कृष्णनगर भन्सार कार्यालय देखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि लगाइएको जिल्ला प्रशासन कार्यालय कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताए ।
प्रशासनले कर्फ्यूको अवज्ञा गरेमा कानुन वमोजिम कारवाही गर्ने चेतावनी दिएको छ । कृष्णनगर क्षेत्रमा लक्ष्मी माताको मूर्ति विसर्जन गर्न लैजाँदै गर्दा स्थानीय दुई समूहबीच बुधबार साँझदेखि झडप भएको थियो ।
बुधबार बेलुकी लक्ष्मीको मूर्ति विर्सजन गर्ने क्रममा झडप हुँदा १० जनाभन्दा बढी घाइते भएका छन् । तनाव बढेपछि प्रहरीले ५० राउण्डभन्दा बढी अश्रुँग्यास प्रहार गरेको थियो ।
प्रदर्शनमा उत्रिएका युवाहरुले टफिक प्रहरी पोष्टमा आगजनी गरेका छन् । प्रदर्शनकारी युवाहरुले प्रहरी माथि ढुंगा मुढा, सीसा तथा बोतल प्रहार गरेका छन् । झडपमा परी करीब आधा दर्जन युवाहरु घाईते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बुधवार राती देखि नै दर्जनौं राउण्ड अश्रु ग्यांस प्रहार गरेको थियो ।
घटनालाई साम्य पार्न प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, नेपाल प्रहरीका प्रमुख दीपशमशेर जबरा, शशस्त्र प्रहरी प्रमुख जनक पुरी लगायतको टोली दिनभर जसो प्रयासरत भए पनि प्रदर्शनकारीसंग वार्ता र संवाद अघि बढ्न सकेको छैन । गोली लागि एक युवकको मृत्यु भए पछि घटना थप संवेदशीनल बन्दै गएको छ ।
थप हिंसा भड्कन नदिन नेपाल प्रहरी र शशस्त्र प्रहरीको ठुलो टोली घटना स्थलमा परिचालन भएको छ । स्थानीय प्रशासनले कृष्णनगर भंसार नाका र आसपासका नाकाहरु अनिश्किालीन रुपमा वन्द गरेको छ । नेपाल तथा भारत तर्फ आवागमनलाई पूर्ण रोक लगाईएको छ ।विहानैदेखि कृष्णनगर क्षेत्रमा सुरक्षा ब्यवस्था कडा पारिएको छ ।