आफ्नी श्रीमतीसंग आनैतिक सम्बन्ध राखेको आरोपमा कपिलवस्तुमा एक युवकको हत्या गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नं. ८ बेलौहामा १८ वर्षीय युवक विजय बहादुर कुर्मीको हत्या गरिएको हाे । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एकै घरमा ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा स्थानीय ३२ वर्षीय रमेश कहार, २३ वर्षीय अनिल कहार र २२ वर्षीया बासमति कहार रहेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । जिल्ला प्रहरी कार्यालयका अनुसार वासमतिसंग प्रेम सम्वन्ध रहेका विजय बहादुर कहांरलाई उनका पति रमेश कहार र भाई अनिल कहारले आफ्नो घरमा कुटपिट गरी हत्या गरेका छन् ।
गत अषाढ ३ गते रमेश छिमेकीको विवहामा बाहिर गएको मौका छोपी रमेश पत्नी वासमतिले विजय कुर्मीलाई घरमा बोलाईन् । राती नफर्केने गरी विवहाको जन्ती गएका रमेश अचानक सोही रात विहेबाट फर्केर घरमा आउंदा एउटै कोठामा आफ्नी श्रीमतीसंगै विजयलाई भेटे ।
आफ्नी श्रीमतीसंग पर पुरुषलाई राती आफ्नो कोठामा देखे पछि आफ्ना भाई समेतलाई बोलाई रमेशले विजयलाई कुटपिट गर्दा विजयको मृत्यु भएको प्रहरी अनुसन्धानमा खुलेको छ । मृतक विजयको शव आफ्ना भाई र श्रीमती समेतको सहयोगमा आरोपी रमेशले घर नजिकैको पोखरीमा राती लगेर फालेको प्रहरीले जनाएको छ ।
घटनाको ४ दिन पछि मात्र प्रहरीले अषाढ ७ गते कपिलवस्तु नगरपालिका वडा नं. ८ पूर्व डिही वेलौहा स्थित सरकारी पोखरीमा विजयको शव फेला परेको थियो । घटनाबारे थप अनुसन्धान गर्दै जांदा प्रेम सम्वन्धका कारण श्रीमान् नभएको मौकामा घरमा बोलाईएका विजयको अचानक घरमा श्रीमान् आए पछि हत्या भएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।