कपिलवस्तुको दक्षिणी क्षेत्रमा अवस्थित शुद्धोधन गाउंपालिकामा स्थानीय एक नेता माथि गोली प्रहार भएको छ। शुद्धोधन गाउँपालिकाको वडा नं ३ सुसरीया पूल नजिक विहीबार दिउँसो २ बजे समाजबादी पार्टीका नेता रामनयन यादव माथि गोली प्रहार भएको हो।
यादव पूर्व नयाँशक्ति पार्टीबाट गाउपालिकाको अध्यक्षका उम्मेद्वार समेत हुन्। उनी हाल समाजबादी पार्टीमा आबद्ध छन्। गाउँपालिकाको वडा नं. ५ देवपुर स्थायी घर भएका यादव जिल्ला सदरमुकाम तौलिहवा आउँदै थिए। उक्त मौका छोपेर मोटरसाइकलमा सवार दुई जना अज्ञात समूहले गोली प्रहार भएको हो।
गोली लागेर यादव घाइते भएका छन्। उनको अहिले तौलिहवामा उपचार भैरहेको बताइएको छ। स्थानीयका अनुसार उनको देब्रो पाखुरामा गोली लागेको छ। गोली प्रहार गर्ने समूूहलाई प्रहरी पक्राउ गर्न भने सकेको छैन।
केही समयअघि शुद्धोधन गाउँपालिकाका दीपेन्द्र चौधरी (राजाबावु) को गोली हानी हत्या भएको थियो। राजाबाबु नेकपाका नेता थिए। उनी पनि गाउपालिकामा अध्यक्षमा उठेका थिए भने प्रदेश सभा निर्वाचनको उम्मेद्वार थिए। बेला बेला नेतामाथि गोली प्रहार हुन थालेपछि उक्त क्षेत्रका स्थानीय त्रसित भएका छन्।