प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले राज्यलाई बलियो बनाउनु पर्ने बताएका छन् । उनले भने, 'कमजोर राज्यले बलिया र सक्षम नागरिक तयार गर्न सक्दैन ।'
लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर रुपन्देहीको आयोजनामा आइतबारदेखि सुरु भएको लुम्बिनी न्यूज फेस्टिबलको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले कुनै समयमा लोकतन्त्रको स्थापनाको लागि राज्यलाई कमजोर बनाउने अभियानमा लागिए पनि अब लोकतन्त्र प्राप्त भइसकेकोले राज्यलाई बलियो बनाउनतर्फ लाग्नुपर्ने बताए ।
नागरिक सबल र सक्षम हुनैपर्छ, जबसम्म राष्ट्र कमजोर रहन्छ, नागरिकहरु कमजोर रहन्छन्, उनले भने ।उनले नकारात्मक चेतनाले समाजलाई अगाडी बढाउन नसक्ने दावी गरे ।मुख्यमन्त्री पोखरेलले सञ्चारमाध्यम मानव जगतको महत्वपूर्ण पक्ष भएको समेत बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिताको अबको मिसन भनेको शान्ति र समृद्धि भएको बताए ।कार्यक्रममा देशभरीबाट ३ सय पत्रकारहरुको सहभागिता रहेको फेस्टिबल आयोजक संस्थाले दावी गरेको छ ।