राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालका भूभागहरु समेटेर भारतले आफ्नो नक्सा प्रकाशित गर्नु नेपाली जनताको लागि चिन्ताको विषय भएको बताएका छन् ।
उनले नेपालका भूभागहरु नेपालीका लागि आँखाको नानी सरह भएकोले त्यो नानी फुटालेर जनता अन्धो हुन कदापी नसक्ने बताए ।पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता केसीले भारतले जारी गरेका नक्साप्रति सबै राजनीतिक दलहरु एकढिक्का हुनु महत्वपूर्ण विषय भएको बताए ।
प्रगतिशिल पत्रकार संघ नेपाल रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले नेपालका भुभाग भारतले फिर्ता गर्नुपर्ने जिकिर गरे।
मेची महाकाली र हिमालदेखि तराईका देशभक्त नागरिक देशको अखण्डता रक्षा गर्नुपर्ने भन्दै आवाज उठाउने कुरा प्रशसंनीय रहेको केसीले बताए ।राष्ट्रिय जनमोर्चाले विगत देखि नै देशमा संघीयता आवश्यक छैन भन्ने कुरा सत्य सावित हुँदै गएको उनले दाबी गरे ।
स्थानीय र संघीय सरकारलाई मजबुत बनाएर प्रदेश सरकार हटाउनुपर्छ, उनले भने । प्रदेशको राजधानी र न्वारन समेत अहिले सम्म हुन नसकेकोले संघीयता खारेजी गर्नुपर्ने पार्टीको माग सही भएको कुरा दिनप्रति दिन पुष्टि हुँदै आएको उनले बताए ।
एक अर्को प्रशंगामा उनले वर्तमान सरकारलाई ढाल्नुपर्छ भन्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् । जनताको म्याण्डेट अनुसार सरकारले काम गरेन भन्ने राष्ट्रिय जनमोर्चाको विरोध र आलोचना भए पनि सरकार ढाल्ने पक्षमा भने आफूहरु तत्काल नरहेको उनले स्पष्ट पारे ।