गुल्मीको सत्यवती गाउंपालिकाका दुई स्थानमा गएको पहिरोमा बेपत्ता भएका ३ जनाको शव भेटिएसंगै मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
पहिरोमा बेपत्ता भएकामध्ये ३ जनाको शव बुधबार साँझ फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिन बहादुर घलेले जानकारी दिए ।
वडा नं ३ को ठुलोलुम्पेकमा पहिरोमा बेपत्ता भएका माया बिक र उनका छोरा बबी बिकको शव फेला परेको हो भने वडा नम्बर ४ लिम्घामा डेढ बर्षीय बालक सञ्जु बिकको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थल ठुलो लुम्पेकमा उद्धारका लागि खटिएका शसस्त्र प्रहरी नायव उपरिक्षक दिनेश रायमाझीका अनुसार माया बिक र बबी बिकको घरको ५० मिटरभन्दा तल शव भेटिएको हो । लिम्घामा मंगलबार निर्मला बिक, पम्फा बिक, अञ्जली बिक, हिमांशु बिक, छलि बिक र सिवानी बिक तथा ठुलोलुम्पेकमा तिलकुमारी र छोरा दर्शन तरामु मगर तथा दुर्गा बहादुर सिंजालीको शव फेला परेको थियो । लिम्घामा अझै सात बर्षीय तारा बिक बेपत्ता छन् ।
घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौ ल्याइयाे
पहिरोमा घाइते भएका ठुलोलुम्पेकका २ जना घाईतेहरुलाई काठमाडौ पठाइएको छ । सत्यवती गाउँपालिका ३ का करिष्मा तरामु र धनी तरामुलाई हेलिकप्टर मार्फत उपचारको लागि काठमाडौ ल्याइएकाे हाे । उनीहरुलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आफैले राहत लिएर आएको हेलिकप्टर मार्फत काठमाडौ ल्याइएकाे गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए ।