बुद्ध जन्मस्थल रुपन्देहीमै बुद्धको मूर्ति तोडफोड भएकोे घटनाको सर्वत्र आलोचना भएको छ ।
दोषी पहिचान गरी कानुनी कारबाहीको माग चौतर्फी भए पनि उनीहरूको पहिचान भने हुन सकेको छैन । मन्त्री, सांसददेखि राजनितीक दल तथा संघ–संस्थाले विज्ञप्ति निकालेरै घटनाको विरोध गरेका छन् । केन्द्र, प्रदेश र स्थानीय सबै तहका सरकारहरूले पनि दोषीलाई कारबाहीको माग गरेका छन् ।
तर, घटनामा संलग्नको संकेत अझैसम्म नमिलेको रुपन्देही प्रहरीको भनाइ छ । चौतर्फी दबाब आएकाले दोषीलाई पानीमुनि पुगेरै भए पनि पक्राउ गर्नुपर्ने अवस्था छ । यद्यपि मूर्ति तोडफोडमा संलग्नहरूसम्म पुग्ने आधार भने प्रहरीले भेटेको छैन ।
मध्यरातमा सुनसान सडकमा घटना भएको र कुनै सबुत (प्रमाण) समेत नभेटेपछि प्रहरी रनभुल्लमा देखिन्छन् । तर, घटनालाई गम्भीर प्रकृतिको र संवेदनशील रूपमा लिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।
प्रहरीले घटनाको गहन अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख (प्रहरी नायब उपरीक्षक) भीम भट्टराईको संयोजकत्वमा ६ सदस्यीय अनुसन्धान टोली गठन गरेको छ । टोलीले स्थानीय स्तरका प्रहरी चौकीका इन्चार्जहरूलाई राखेर अनुसन्धान अघि बढाएको छ । अनुसन्धान टोली संयोजक भट्टराईले घटनामा संलग्नहरूको पहिचान गरेरै छाड्ने बताए ।
उनले भने, ‘समय लाग्ला तर पहिचान गरेरै छाड्छौं, यसका लागि आवश्यक सहयोग सबैको चाहिन्छ ।’ ६ लेन सडकमा सीसीटीभी नहुँदा दोषी पत्ता लगाउन भने समस्या भएको उनको भनाइ छ । प्रहरीका अनुशार सो क्षेत्रको एक निजी घरमा राखिएको सीसीटीभी हेर्दा रातिको २ बजेतिर सडकमा एउटा गाडी गुडेको देखिएको छ तर अन्य कुनै प्रमाण छैन । कतिपयले घटनालाई राजनीतिक तथा धार्मिम रङ दिन खोजे पनि यो विशुद्ध अपराधिक घटना भएको निष्कर्षमा भने प्रहरी पुगेको छ ।