धेरै दिन भएको थियो बस नचढेको । भक्तपुर जानु थियो । सुकेधाराबाट म बस चढ्न प्रतीक्षामा थिएँ । एउटा बस आयो, रोकियो । चढें । सबै सिटमा मानिस देखें । एउटामा त्यस्तै २२/२३ कि युवती बसेकी रहिछन् । १ सिट खाली रहेछ । तर, यसो सिटमाथि हेरेको महिला सिट लेखेको रहेछ । बस्ने कुरा भएन । ती युवतीले पनि बस्दा हुन्छ जस्तो भाव देखाइन् । तर पनि मनले मानेन । कसरी जानी-जानी बसौं । बसिनँ । बस अघि बढ्यो । एक भाइ हस्याङफस्याङ गर्दै चढे दुलैदुलो परेको पेन्ट, आधा रंगिएको कपाल ओठमा मुन्द्रा जस्तो लगाएको हातमा २ महँगा जस्ता मोबाइल बोकेका । अघि आएर ढसमस्स ती युवतीको काखैमा बसे झैं गरे । युवतीले आँखा तरिन् । सम्हालिएर बस्न अनुरोध गरिन् ।
खोइ कुनै किसिमको भाव परिवर्तन त्यो युवकमा मैले देखिनँ । मैले बसका सहयोगीलाई ( परिचालक) इसारा गरी महिला सिटको जानकारी दिन खोजे । उनले वास्ता नगरी भाडा उठाउन थाले ।
त्रिभुवन विमानस्थलबाट बस अघि बढेपछि मैले फेरि त्यो सिटको अवस्था हेरे । मलाई नमज्जा लाग्यो । ती युवक मोबाइल झिकेर ती युवतीको पनि अनुहार आउने गरी सेल्फी खिच्न जिद्दी गरिरहेछन् ।
सरी म फोटो खिच्न त्यति रहर गर्दिनँ कृपया यता फोटो नलिनु होला । ती युवती भन्दै थिइन् ।
युवकले आफ्नै पारिवारिक सदस्यलाई हप्काएझैं गरी "किन नाटक गरिरा यता हेर मेरो मोबाइलतर्फ" भनेको सुनें । म अझ जिज्ञासु भएर युवतीको उत्तर सुन्न चाहे ।
ती युवती जुरुक्क उठेर बाटो छाड्न युवकको मुखतर्फ हेरिन् । युवकले हातै समातेर बस न किन भागेकी भनेर सिटमै राख्यो ।
'कृपया अनैतिक व्यवहारको प्रदर्शन नगर्नुस् है अन्यथा समस्या होला' युवतीले भनिन् ।
'के गरेको छु मैले र म समस्यामा हुन' युवकले हात नछोडौंला झैं गरी बसायो । हात छाडिदियो । युवतीले पर्सबाट मोबाइल झिकिन् र एसएमएस गरेझैं केही लेखिन् । झ्यालतर्फ फर्केर बाहिर हेर्न थालिन् । युवक मत्ता हात्तीझैं मात्तिएर युवतीको ढाडको भागमा मोबाइल अड्याएर केही अघि बसभित्रै खिचेको तस्बिरहरु र भिडियो हेर्न थाल्यो । हर्कत हेर्दा समातेर दुई चड्कन दिनेजस्तो व्यवहार गरेको थियो । म छक्क थिएँ । ती युवतीले थप कुनै प्रतिक्रिया देखाएकी थिइनन् । शान्त रिसको भाव भने मुखमा पक्कै होला, प्रदर्शन भने गरेकी थिइनन् । कोटेश्वरमा बस रोकियो २ प्रहरी कर्मचारी बसमा चढे उनीहरुका आँखाले केही खोजेजस्तो देखे । उनीहरु मेरोनजिक आए र जयनेपालको अभिवादन पूरा सतर्क भएर गरे । म छक्क थिएँ । कसलाई होला यो सलाम भनेर । तर युवती उठिन् र सलाम फर्काइन् । यो बदमासलाई नियन्त्रणमा लिनू भनिन् । हस् हजुर भनेर प्रहरीले ती युवकलाई प्रहरी कार्यालय हिँड्न आदेशात्मक भाषामा भने । बसचालकलाई पनि बस रोकीराख्न भने । युवतीले मलाई पनि प्रहरी कार्यालयसम्म जान र युवकको गलत हर्कतबारे बयान गर्न अनुरोध गरिन् म वास्तविक रुपमा प्रतक्ष जानकार थिएँ । युवकको अनुहार निचोरेको कागतीजस्तै भएको थियो । सरी-सरी भनेको सुन्दै थिएँ ।
युवती प्रहरी निरीक्षक रहिछन् ।
हजुरहरुको सहयोग प्राप्त भए सार्वजनिक सवारीसाधनमा हुने महिला हिंसाका घटनालाई नियन्त्रण गर्न सकिन्छ । ती प्रहरी निरीक्षक युवतीले भनिन् ।
त्यो युवकलाई लिएर प्रहरी पनि गए । म घटनाको साक्षी बसेर आफ्नो गन्तव्यतर्फ प्रस्थान गरें । प्रहरी निरीक्षक रुपाले मोबाइल नम्बर मागिन् । कानुनको सदैव यसरी नै सहयोग गर्न अनुरोध गरिन् । म पनि प्रहरी निरीक्षक रुपाको व्यवहार र सहनशीलता देखेर दंग पर्दै भक्तपुर लागे ।
सेफ्टी पिन कार्यक्रम नेपाल प्रहरीले सञ्चालन गर्दै रहेको जानकारी मैले प्रहरी कार्यालय पुगेपछि थाहा पाएँ ।
सेफ्टी पिन कुनै पनि युवती वा महिलालाई सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा पुरुषबाट हुने यौन दुर्व्यवहार नियन्त्रण गर्न/हुन नदिन प्रहरी कर्मचारी आफैं यात्री बनी पीडितलाई सहयोग गर्ने कार्यक्रम हो । तत्कालै सवारीसाधन भित्रैवाट १०० नम्बर वा ९८५१२८९१११ नम्बरमा आफू पीडित भएको सूचना दिन सकिन्छ । वा पीडकले थाह नपाउने गरी एसएमएस पनि गरी प्रहरी मद्दत लिन सकिन्छ ।
कोही महिलामाथि सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा कुनै पनि यौन दुर्व्यवहार भएको महसुस भए प्रहरीलाई तत्कालै खबर गर्न सकिन्छ । प्रहरीको यस्तो राम्रो कार्यक्रमको प्रशंसा गर्दै धन्यवाद दिँदै म घर फर्किएँ ।