ट्राफिक प्रहरीले गर्ने व्यवहारमा सुधारका लागि नेपाल प्रहरीले विभिन्न तालिम अनुशिक्षण कार्यक्रम र निर्देशन बेला-बेला दिइरहन्छ ।
ड्युटीमा खटिने ट्राफिक प्रहरीलाई विभिन्न समस्याले नियमित गाँजिरहेको हुन्छ । ड्युटी समय, काम गर्ने अवधि, बिदा सवारी चालक, पैदलयात्री, सडक प्रयोग र सडक अतिक्रमणले काममा बाधा पारिरहेको हुन्छ ।
सडक प्रयोगकर्ताले पालना गर्नुपर्ने नियमहरु सरल तरिकाले पालना मात्रै गरिदिए ट्राफिक प्रहरीलाई कति सहज हुने थियो । कुनै पनि सवारी चालकलाई कारबाही गरौं भन्ने सोचका साथले ट्राफिक प्रहरी सडकमा खटिएको भने हुन्न । परिस्थितिले र अन्य तत्काल उब्जिएको सडकसम्बन्धी कार्यले प्रहरीले तत्कालै कारबाही वा सूचनाबाट समस्या समाधान गर्नुपर्ने हुन्छ ।
एउटा सामान्य जानकारी अभाव र सवारीसाधन चालकको हतारले सडक व्यवस्थापनमा दैनिकजसो समस्या आइरहेको हुन्छ ।
सडक हतारमा तय गर्ने स्थान भने पक्कै होइन । दुर्घटना हुन नदिन र दुर्घटनामा नपर्न सबैले प्रयास प्रयत्न गर्नैपर्छ ।
सवारी चालक पनि सवारीसाधन, सवारीधनी, यात्री, पैदलयात्री र सडक अतिक्रमणबाट पीडित भएका हुन सक्छन्, घर परिवारको समस्या पनि बोकेका हुन्छन् । सामान्य बोलीचाली व्यवहारले पनि यात्रीको माया र कहिलेकाही बोलीले नै घृणा पाइरहेका हुन्छन् ।
जसरी सवारी चालकले यात्रीको माया र घृणा लिन्छन् त्यसैगरी सडकमा खटिने ट्राफिक प्रहरीलाई पनि यो दुवै उपहारमा पाइरहेका हुन्छन् । ट्राफिक प्रहरीलाई समाज र राष्ट्रले खुबै दया पनि गरिरहेका हुन्छन् । काम को प्रकृति खटाई धूलो-धूवाँमा खटिएर सबैको दया पाए पनि सरकारले ट्राफिक प्रहरीलाई केही राहत दिनुपर्छ भन्ने सोच बनाए पनि कार्यान्वयनमा भने रुचि देखिएको छैन ।
विगतमा जरिवानाको १५ प्रतिशत रकम ट्राफिक प्रहरीलाई दामाशायी रुपमा दिने निर्णय गरी सबैको मनमा ट्राफिक प्रहरीको कामको अवमूल्यन भएको थियो । काम गरौंभन्दा पनि भत्ताका लागि हामीलाई दुख: दिने भन्ने खप्की सुन्नुपरेको थियो । सरकारले २ पटक केही राहत भत्ता दिए पनि लिन निकै प्रयास गर्नुपरेको थियो । २ वर्षको पाउनुपर्ने भत्ता भने रोकिएर ट्राफिक प्रहरीलाई अझ पनि पाइन्छ कि भनेर आश बाँकी नै छ ।
ट्राफिक प्रहरीले नियमित १३/१४ घण्टा सडकमा धूलो-धूवाँ हावा-हुरी असिना भूकम्पलगायत सबै विपत्तिसमेत खपेर यातायात व्यवस्थापन गरिरहेको अवस्थामा पनि ट्राफिक प्रहरीप्रति जनताको निम्नानुसार जनगुनासो रहेको पाइन्छ ।
१. ड्युटीमा खटिएका ट्राफिक प्रहरीहरु आपसमा गफ गरी बस्ने,
२. २४ घण्टे पुर्जी हातमा देखाएर कागजात माग गर्ने
३. सुरुमा राम्रो बोल्ने अनि रिसाउने झर्कने तथानाम बोल्ने
४. केही सोध्न खोज्यो भने मुद्दा गर्न जा , ४ नम्बर कोठामा गुनासो गर् जस्ता शब्द प्रयोग गर्ने
५. लेन कारबाहीमा खटिँदा अनुमानका भरमा कारबाही गर्ने
६. केही नभनी पुर्जी जारी गरी हाल्ने
७. सेवाग्राहीसँग तुच्छ व्यवहार गर्ने,
८. बोल्न/सोध्नसमेत डराउनुपर्ने, भोलि पनि त यही बाटो हिँड्ने हो नि भन्ने
९. मेरो काम जरिवाना गर्ने हो चित्त नबुझे जे गर्न सकिन्छ गर् भन्ने
१०. अन्जान सहरमा थाहै नभएका नवआगन्तुकले गर्न लागेको गल्ती ट्राफिक प्रहरीले देखेर पनि केही नभन्ने तर गल्ती भए रोकेर लाइसेन्स माग गर्ने,
११. लेनमा बसेका ट्राफिक प्रहरीले अरु परिस्थिति नबुझिदिने कुनै समय अन्य सवारीसाधनबाट आफू जोगिन पनि अलिकति लेन लाइन छोयो भने पनि माफी नपाइने
१२. हेपेर बोल्ने
१३. ए बढी कुरा गर्ने तपाईंलाई त छोड्न पनि सकिन्थ्यो तर अब बढी जरिवाना गराउँछु भन्ने
१४. केटीहरुसँग अनाबश्यक कुरा सोधेर हैरान बनाउने, तिमी भन्ने ।
१५. कहिलेकाहीं ब्रेकको आवाजलाई पनि हर्न बजाएको भन्ने ।
१६. केही कुरा बुझ्न सोध्न खोज्यो भने अघि बढनुस्, नरोक्नुस् भन्ने रोकेर सोध्न लाग्दा कारबाहीको जिकिर गर्ने
यी समस्या समाधान गर्न ट्राफिक प्रहरीहरुलाई समयसापेक्ष अनुशिक्षण तालिममा समावेश गरिरहेको पाइन्छ । विस्तारै सुधार हुँदै गएको भनाइ पनि आउन थालेको छ । सडकमा सदा प्रयत्नशील रहने ट्राफिक प्रहरीलाई जयनेपाल ।