केही वर्षअघि
म सम्झँदै थिएँ ।
म ट्राफिक प्रहरीलाई मन पराउँदिन थें । यसका धेरै कारण थिए । म सुनसरीमा जन्मिएर अहिले काठमाडौंमा छु । मैले ट्राफिक प्रहरीलाई चिनेको पनि छैन धेरै बुझेकी पनि छैन । काठमाडौं आएको केही दिन मात्रै भएको थियो । हाम्रो घरमा डेरा लिएर बस्ने सिरहा घर भएका दाजुले ठेला गाडीमा तरकारी बेच्ने गर्नुहुन्थ्यो । ठेला घरअगाडिको सडकमा राख्नु हुन्थ्यो । एक दिन बिहान हाम्रो घर अगाडि धेरै गाडीको लाइन लाग्यो । म घरभित्र पढेर बसेकी थिएँ । केही हल्ला सुनेपछि झ्यालबाट बाहिर हेरें, गाडीहरु धेरै भएछन् । कोही त्यो ठेला हटाउनुपर्ने कोहीले कारबाही गराउनुपर्ने सधैं यहीं राख्छ भनेर भनेको सुनें तर खासै कुरा बुझिनँ । कारबाही भनेको के हो कसले-कसलाई गर्ने भनेर तर एकछिन पछि एकजनाले ट्राफिक प्रहरीलाई फोन गरेपछि प्रहरी आएर त्यो ठेलावाल दाजुलाई सम्झाएर सडकबाट हटाइदिन भनेको र तत्काल नहटाएपछि समातेर ठेला पनि लिएर गए भनेको सुनें । पछि स्कुलबाट आएपछि तिनै ठेलावाली भाउजूले बाबासँग भनेको पनि सुनें । मलाई ती प्रहरीसँग रिस उठ्यो विचरा ती दाइलाई प्रहरीले किन लगे किन दिनभरि राखेर कमाई खान दिएनन् भनेर । त्यसपछिका दिनहरुमा फेरि मैले त्यो दाइले ठेला सडकमा राखेको र गाडीको जाम पनि त्यहाँ देखिनँ ।
एक दिन मेरो काकासँग म काकी बिरामी भएर अस्पतालमा भेट्न जाँदै थियौं । हामी मोटरसाइकलमा चढेर अस्पताल जाने क्रममा दिनको २ बजेतिर चाबहिलनजिक पुग्दा सेतो टोपी लगाएका केही प्रहरीले गाडीलाई रोकेर कुरा गर्दै गरेको देखें । एकजनाले हाम्रो काकालाई पनि रोक्नुभयो । मलाई उतारेर काका प्रहरीतिर जानुभयो । म मोटरसाइकलतिरै बसेकी थिएँ । काकाले गोजी छाम्नुभएको देखें । फेरि काकाले कान समातेको देखें । ट्राफिक प्रहरीले के भन्नुभयो र काका के भन्दै हुनुहुन्थ्यो मैले सुनिनँ । तर, धेरै बेरसम्म काकाले हात जोडेर उभिएको देख्दा मलाई नमज्जा लागेको थियो । पछि काका अँध्यारो मुखमा मलिन हाँसोसहित नजिक आउनुभयो । मलाई लिएर अस्पताल आएपछि काकीको औषधि खुवाउने समय कटेछ । नर्स दिदीले काकालाई समयको ख्याल किन नगरेको भनेको सुन्दा मलाई हाम्रो समय कटाइदिने ट्राफिक प्रहरी झनै मन पर्नै छाड्यो ।
काकी अस्पतालबाट डिस्चार्ज भएर घर आउनुभयो । फेरि एक दिन मेरो मामाले राति बाबालाई फोन गरी भिनाजु मलाई लिन आउनु न भनेर फोन गर्नुभयो ।
मामुलाई बाबाले भन्नुभयो- 'वसन्त त मापसेमा परेछ अब लिन जानुपर्ने भयो ।' राति मामु-बाबा बोलेको सुनेर म पनि उठेर मामुलाई सोधें के भयो मामु ? बाबा कहाँ जान लाग्नुभएको यति राति ?
हेर न तिम्रो मामालाई ट्राफिक प्रहरीले समातेका छन रे अनि बाबा उसलाई लिन जान लाग्नुभएको । मेरो मामालाई किन राति ट्राफिक प्रहरीले समातेको मलाई झन् रिस उठेको थियो ।
स्कुलबाट हामी पिकनिक खान गोदावरीतिर जाँदै थियौं । हाम्रो र कक्षा ९ का सबै गरी झन्डै ६२ जना बसमा बसेका थियौं, जसमध्ये केही उभिएका पनि थियौं । सातदोबाटोमा ट्राफिक प्रहरीले बस रोके किन यति विद्यार्थी कोचेर बस चलाएको भनेर हाम्रो बसलाई अघि बढ्न दिएनन् । म त ट्राफिक प्रहरीसँग रिसले मुर्मरिएँ । तर स्कुलले अर्को बस खोजेर पठाएपछि हामी पिकनिक खान गयौं । तर, ढिलो भयो भोक पनि असाध्यै लागेको थियो म ट्राफिक प्रहरीसंग खै के भनौं धेरै रिसाएकी थिएँ ।
मेरो घरभन्दा केही पर बस स्ट्यान्ड छ । एकदिन हजुरआमा र म काकी भेटन काकाको घर मैतिदेवी पुगेर फर्कंदा घरनजिक बस रोक्न हजुरआमाले भन्दा हुन्न आमा ऊ त्यहाँ ट्राफिक प्रहरी हुनुहुन्छ रोक्यो भने त पैसा लाग्छ भनेपछि त झन् म त कति खराब हुने रहेछ ट्राफिक प्रहरी भनेर रिसाएँ । हजुरआमाको घुँडा दुख्ने समस्या झन् गार्हो भयो बस ओर्लिएर फर्किँदा । खोइ ट्राफिक प्रहरीको मनमा कुनै माया दया को भावना नै हुन्न कि के हो ?
६ वर्ष पछि
आज म स्नातक तह BSW पढ्दै छु । कलेजमा अचानक केही ट्राफिक प्रहरीलाई गेटबाट पस्दै गरेको देखें । मलाई कता-कता घृणा लाग्यो । ट्राफिक प्रहरीलाई लिएर प्रिन्सिपल सर कोठामा आउनुभयो । कक्षामा त बस्नै पर्यो ।
'नमस्कार म विपिन गौतम महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट । आज म तपाईंहरुसँग नेपाल प्रहरीको परिचयका साथै ट्राफिक प्रहरीको कार्य र विद्यार्थीले सडक दुर्घटना नियन्त्रणमा सहयोगबारे अनुरोध गर्न आएको छु । तपाईंहरूले मलाई आजबाट विपिन अंकल भनेर आफ्नो समस्याबारे पनि छलफल गर्न सक्नु हुनेछ ।' भन्नुभयो । तर, म के अंकल भन्छु र भन्दै मेरो डायरीमा टिपेका कुराहरु हेर्न लागें ।
सर्वप्रथम म तपाईंहरुको जानकारीका लागि भन्दै छु । १६ वर्षदेखि २५ वर्षभित्रका तपाईंहरुको उमेरका करिब ६० प्रतिशत युवा अपराधमा संलग्न भएको पाइएको छ । तपाईंहरु अज्ञानमा वा लहलहैमा लागेर अपराधमा संलग्न हुनुहुन्छ । समाजमा अपराध हुन्छ अपराधी पनि समुदायमै बस्छन् । पीडित पनि समुदायमै हुन्छन् ।
अब विद्यार्थीको पनि समाजमा ठूलो र महत्त्वपूर्ण भूमिका रहन्छ । अपराध र अपराधी पनि समाजमै हुने भएकाले अपराधको सानो सूचना पनि प्रहरीलाई अपराधीसँग चाँडो पुग्न मद्दत पुग्छ । अपराध रोकथाममा पनि विद्यार्थीको महत्त्वपूर्ण कार्य हुन्छ भनेको कुराले मलाई सुन्न उत्सुक बनाएको थियो ।
विश्वमा प्रत्येक २६ सेकेन्डमा १ जनाको सवारी दुर्घटनामा मृत्यु हुने, नेपालमा पनि ६-७ जनाको प्रत्येक दिन सवारी दुर्घटनामा मृत्यु भइरहेको र त्यसमध्ये पैदलयात्री सबैभन्दा बढी समस्यामा रहेको पाइन्छ भनिएको थियो ।
"सडक दुर्घटनास्थल हो" भन्दै ट्राफिक प्रहरी विपिन अंकलले सडक प्रयोग गर्ने तरिका, बाटो काट्ने तरिका, सवारीसाधन चलाउने नियम, सडकमा हुने ट्राफिक संकेत चिह्न, सडक चिह्नबारे जानकारी गराउनुभएको थियो ।
प्रहरी र ट्राफिक प्रहरी एकै हुन् र सवारी आवागमन सहज ढंग सञ्चालन गर्न खटिने अधिकार प्राप्त प्रहरीलाई ट्राफिक प्रहरी भनिन्छ । यो नेपाल प्रहरीको एक अंग हो । ट्राफिक प्रहरीले सामान्य, नियमित र बृहत् जनचेतनाका कार्यक्रम गर्दै आइरहेको छ ।
सडक प्रयोग गर्ने मानिस वा चालकलाई दिइने ट्राफिकसम्बन्धी चेतना नै ट्राफिक जनचेतना हो ।
हामी तपाईंको कलेजमा किन छौं ? थाह छ ? ट्राफिक प्रहरीले के गर्छौं त जानकारी लिनुहोस् भन्दै हामीलाई ५ मिनट ब्रेक दिनुभएको थियो । हामी कक्षा नछाड्ने सबै कुरा सुन्ने भने पछि विपिन अंकलले कक्षालाई निरन्तरता दिँदै जानकारी गराउनुभएको थियो ।
- दुर्घटना न्यूनीकरण गर्न,
- सवारी आवागमन सहज बनाउन,
- सडक सभ्यता अभिवृद्धि गर्न,
- सकारात्मक सम्बन्ध एवं सदभाव कायम गर्न,
- ट्राफिक प्रहरीको कार्य प्रभावकारी बनाउन,
- जनसमर्थन र जनविश्वास हासिल गर्न,
- सूचना प्राप्त गर्न,
- Public Police Partnership अवधारणा अभिवृद्धि गर्न
ट्राफिक प्रहरीका समस्याहरू सुनाउनुभयो । धेरै समस्याले ग्रसित रहेछन् जस्तो लाग्यो । अब मनमा केही माया-दया बढ्दै गरेको महसुस भयो ।
मलाई पनि मेरो मनमा रहेको तुष पोखौंजस्तो लाग्यो । मैले सानैदेखि ट्राफिक प्रहरीले गरेका गल्ती भनें । जब मैले अब विपिन अंकल रिसाउनुहोला भनेको त उहाँले ठेला सानो र साँघुरो सडकमा राख्दा अरु नियमित सडक प्रयोगकर्तालाई पर्ने समस्याबारे भन्नुभयो । हो नि मैले मन-मनै सोचेको थिएँ । वास्तवमा व्यापार व्यवसाय गर्नेले सडकमा बाधा, अवरोध गर्न हुँदैन भन्ने मेरो चेत खुल्यो ।
राति मामाले मापसे गरी सवारीसाधन चलाउँदा ट्राफिक प्रहरीले नसमाति त्यतिकै छोडेको भए आज मैले मामा भन्न पाउथें कि पाउँदैनथें भनेर मलाई प्रश्न गरेपछि आफैं एकक्षण अकमकिएको थिएँ ।
हो नि ट्राफिक प्रहरीले रातभरि सडकमा बसेर चिसो मौसममा कठ्यांग्रिएर, झरीमा भिज्दै, हावा हुरीका बेला धूलोमा पुरिएर, चर्को घाममा बसेर पनि सवारी दुर्घटना न्यूनीकरण गरिरहेको रहेछ । ट्राफिक प्रहरीलाई माया गरिदिन र नियम पालना गरिदिन अनुरोध गरेपछि म आफैंसँग लज्जित हुँदै ट्राफिक प्रहरीप्रति नतमस्तक भएको थिएँ । सम्झिएँ म कति गलत रहेछु । काकाले हतारमै भए पनि सवारी चालक प्रमाणपत्र नबोकेकै कारण सवारी दर्ता किताब पनि नबोकेकाले मोटरसाइकल रोकिएको भन्ने पनि थाह भएपछि म नै गलत रहेछु भन्ने लाग्यो ।
त्यही एक दिनको ट्राफिक प्रहरीको प्रशिक्षणकै कारण म ट्राफिक प्रहरीप्रति मात्रै नभएर नेपाल प्रहरीसँग नजिक भएको थिएँ । मनभित्रको सबै तुष सकिएको थियो । त्यहीँ दिनदेखि म सधैं ट्राफिक प्रहरीलाई देख्ना साथ मनमा इज्जत भाव बढेर आएको महसुस गर्छु । आई लभ यू ट्राफिक प्रहरी ।