ए उठ न उठ । बिहानै आमाले झक्झकाउनुभयो । पल्लो घरको शिवलाई बिहानै टिप्परले ठक्कर दिएछ । खै घरमा रुवावासी छ जा तँ पनि तुरुन्तै ।
म हडबडाउँदै उठें । नित्यकर्म नगरी बाहिर निस्कँनै सक्दिनँ । थामिन्नँ । म हतारमा बाथरुम पसें ।
शिवको घरमा रुवाबासी झन चर्केर बढिरहेको थियो । म पनि नीलो-कालो हुँदै पुगें ।
घरमा शिवको आमा, भाउजू, दिदीबहिनीको रुवाबासी मलाई देख्नासाथ झन् बढ्यो । म र शिव एक साता अघि-पछि जन्मिएका । सँगै हुर्किएका । म रुँदै बसें आमाले च्याप्प समात्नुभयो । सबैले मलाई नै समाएर रुन थाल्नुभयो ।
म विचलित थिएँ । सम्झाउनुको साटो रुँदै थिएँ । कुरा बुझ्न बाँकी थियो ।
म अलिकति सम्हालिएर फोन झिकें । नम्बर डायल गरें । दोस्रो घण्टीमा फोन उठ्यो । को बोल्नुभएको रुखो स्वरमा सोधियो । म हजुर वसन्त हजुर । यो त शिवको फोन हो मैले उसको अवस्था बुझ्न खोजेको कस्तो छ उसलाई जानकारी दिनुभए हुने । म डराउँदै बोलें । उताबाट झर्किएको स्वरमा- "किन फोन गरेको आएर लानु पर्दैन" । मेरो मुटु जोर-जोरले धड्कियो । कहाँ लाने मैले काँप्दै सोधें । "घर" उताबाट उत्तर आयो । म थुचुक्क बसें । सबैको रुवाई झन चर्किएर आयो ।
म के गरौं के भनौं को अवस्थामा थिएँ । आँट गरी सोधें । पोस्टमार्टम गर्न पर्दैन ? "के भनेको नमरी पनि कसैको पोस्टमार्टम हुन्छ ।" अब मलाई कानमा विश्वास भएन । फेरि सोधें । के भन्नुभएको कृपया भनिदिनुहोस् न शिव को अवस्था के छ ?
ऊ भर्खरै होसमा आएको छ बोल्ने ऊसँग ! म त अचम्ममा परें । अघिको रुखो स्वर पनि शान्त बोलेको आभाष भयो । दिनु न सर प्लिज प्लिज । मैले भनेको कुरा ध्यान दिएर रुँदै सुनिरहनुभएको आमाले मलाई ध्यानपूर्वक हेर्नुभयो ।
वसन्त उताबाट सानो स्वर सुनें । म शिव हो भनेर निकै जोडले कराएछु । घर त तुरुन्तै शान्त भयो । सबै मेरो मुखाकृतिमा हेर्न लाग्नुभएको रहेछ । मैले फोन ह्यान्ड फ्रि गरें । वसन्त आइज न म घर फर्कनुपर्ने छ १ घण्टापछि डिस्चार्ज हुन्छ भनेको छ केही नगद र फेर्ने लुगा र २ हेलमेट पनि लिएर आइज ल । बडो सुस्त स्वरमा शिव बोलेको सबैले सुनेपछि फोन काटियो । सबै आश्चर्य मुद्रामा मलाई हेरिरहनुभएको थियो । म अब हाँस्न लागें । सानी बहिनी जयन्तीलाई बोकेर नरोऊ अरुलाई पनि नरुन भन है भने ।
शिवको आमाले कति रुपैयाँ ल्याउनु भनेको कति लिएर जानू के गरौं वसन्त भनेर सोध्नुभयो । जाउँ मसँग एटीएम छ उतै झिकौंला । कपडा ठीक पार्नु म घर पुगेर आउँछु भन्दै लागें ।
आमालाई लिएर म अस्पताल पुगें । बाहिर प्रहरीहरु रहेछन् । मैले सोधें अघिको दुर्घटनाका घाइते कहाँ छन् ? प्रहरीले आकस्मिक सेवाको कोठातिर देखाइदिए । आकस्मिक कक्ष बाहिर एउटा शव राखेको रहेछ । म झसंग भएँ । कतै शिव ? हे राम म कुदेर भित्र गएँ हेरें वरिपरि तर शिव देखिन मुटुको चाल बढेर आयो ।
वसन्त मसिनो आवाज सुनें । फर्किए शिव रहेछ मन ढुक्क भयो । म मनमनै भगवानलाई धन्यवाद दिँदै प्रशन्न मनले नजिक पुगें ।
"के भयो कसरी ? मैले सोधें । म र जीवन हिजो साँझ जीवनको मामा मापसे गरी मोटरसाइकल चलाएर तीनकुनेमा बिजुलीको पोलमा ठोक्किएर घाइते हुनुभएछ । म घरमै थिएँ राति १० बजेतिर फोन आयो तुरुन्तै मोटरसाइकल लिएर आइज भनेर । म आमा र बहिनीलाई भनेर मोटरसाइकल लिएर जीवनलाई लिएर वीरको ट्रमा सेन्टरमा पुग्यौं । मामालाई सघन उपचारमा राखेको रहेछ । बिजुलीको पोलमा ठोक्किँदा उहाँको कमजोर हेलमेट फुटेर टाउकामा चोट लागेको र बाँच्ने सम्भावना कम भएको डाक्टरले प्रयास गर्दै रहेको जानकारी पायौं । राति जीवनलाई मात्रै छोडेर हिँड्न मन लागेन । बिहान डाक्टरले मामालाई होस् नआएको र थप उपचारका लागि बाहिर लैजान भनेकाले जीवन र म साढे ४ बजे मामाको घर कौशलटार जाने र केही रकम लिएर आउने अनि अर्को अस्पतालमा मामालाई लैजाने सल्लाह भयो । म हेलमेट लगाएर मोटरसाइकल चलाउन लागेको थिएँ जीवनले म चलाउँछु त रातिदेखि सुतेको छैनस् बरु म त ३ घण्टा जति त निदाएँ । देन दे पछाडि बस रेस्ट गर म लैजान्छु भन्यो । म मानेको थिइनँ तर जबरजस्ती ऊ चलाउने भयो । मेरो मोबाइल फोन पनि उसैले बोकेको थियो । म हेलमेट लगाएरै पछाडिको सिटमा बसें ।
कोटेश्वरबाट भक्तपुर जाने बाटो सुनसान थियो । कही कतै सवारीसाधन देखेको थिइनँ । म आँखा चिम्म गरी बसेको थिएँ । केही क्षणमा ठूलो आवाज आए जस्तो लाग्छ । पछि म होसमा आउँदा अस्पतालमा सुने जीवन मरिसकेछ । सबैले मलाई चालक र ऊ पछि बस्ने ठानेका रहेछन् । जीवनको गोजीमा मेरो मोबाइल भएकाले मेरो नम्बरबाट घरमा फोन गएछ । मैले नै हेलमेट लगाएकाले चालक बाँचेको भान परेछ । यदि मैले त्यो हेलमेट नलगाएको भए म पनि यतिबेला .. । बडो दु:खसाथ शिवले भन्यो ।
यत्तिकैमा शिवको मोबाइलमा फेरि घण्टी बज्यो मैले फोन लिएर बोलें । हेलो हिजो रातिको मापसे मोटरसाइकल चालकको मृत्यु भयो । तपाईंको परिवारलाई खबर गरी शव पोस्टमार्टमका लागि लैजान आउनुपर्यो । फोन राख्दै मैले शिवलाई भने तर अब कसरी कसलाई खबर गर्नु ? मापसे र हेलमेट यी दुवैको सही प्रयोगले मात्रै मोटरसाइकलमा जीवन रक्षा हुन्छ । "सडक दुर्घटनास्थल हो" त्यसैले सधैं होस पुर्याउन जरुरी छ ।
*सत्य घटनालाई कथामा बुनिएको ।