रामेछापको गोकुलगंगा–४ बेतालीमा बसबाट खसेर एक बृद्धको ज्यान गएको छ ।
रामेछापको प्रितिबाट काठमाण्डौ तर्फ जाँदै गरेको अरनिको यातायात सेवा समितिको बा ३ ख ९६६२ नम्बरको यात्रुबहाक बसको ढोकाबाट खसेर बेतालीका ६४ बर्षका होमप्रसाद घिमिरेको मृत्यु भएको प्रहरीले बताएको छ ।
बुधबार बेतालीबाट सोहि गाउपालिकाको वडा नं २ ठोसेमा बिबाह को जन्ति लिएर गएको उक्त बसमा घिमिरे पनि जन्ति गएका थिए । सो बसमा उनको लौरो छुटेको र लौरो निकाल्नको लागि बिहिबार बिहान घिमिरे आफै बस रोकेर चढेका थिए । बेतालीको बाहुनी मोडमा लौरो झिक्न बस चढेका घिमिरेको बस चढेको ठाउँबाट करिब ५ मिटर पर पुगे पछि ढोकाबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभुषण यादबले बताए ।
प्रहरीका अनुसार– बसको ढोकाबाट घिमिरे र बसका सहचालक सँगै खसेका थिए । बसबाट खसेकै ठाउँमा घिमिरेको मृत्यु भएको र सह–चालक सामान्य घाइते भएको प्रहरी निरीक्षक यादबले बताए ।
बसबाट खसेर घिमिरेको मृत्यु भए पछि बेतालीका स्थानीयले साझ अबेर सम्म सडक अबरुद्ध गरेका छन् । अबरुद्ध सडक खुलाउनको लागि गोकुलगंगा गाउँपालिका, पीडित पक्ष र प्रहरीबीचको छलफलमा पीडित पक्षलाई गाउँपालिकाले केहि आर्थिक सहयोग गर्ने भनिए पनि अरनिको यातायात सेवा समितिले बाँकी क्षतिपुर्ती आफूहरूको माग अनुसार नदिए सम्म समितिका कुनै पनि सवारीसाधनलाई बेतालीबाट चल्न नदिने पीडित पक्षले अडान लिएका कारण सहमति हुन सकेको छैन । छलफलमा अरनिको यातायात समितिका प्रतिनिधि कोही पनि सहभागी नभएका कारण छलफल निष्र्कमा नपुगेको प्रहरीले बताएको छ ।
मृतक परिवारको आर्थिक अवस्था कमजोर भएका कारण परिवारलाई गाउँपालिकाले समेत केही आर्थिक सहयोग गर्ने भएको गाउँपालिका अध्यक्ष खड्ग बहादुर सुनुवारले जानकारी दिए । मृतक घिमिरेका दुई छोरी, एक छोरा र श्रीमती रहेका छन् ।एक हप्ता अघि मात्रै बसको ढोकाबाट खसेर मन्थलीकी एक महिलाको ज्यान गएको थियो ।