नेपाली कांग्रेसका केन्द्रीय नेता कृष्ण प्रसाद सिटौलाले अहिलेको सरकारले आफैले बनाएको संबिधानलाई लात हानेको आरोप लगाएका छन् । साथै सरकारले स्वतन्त्र न्यायपालिका, संवैधानिक निकायहरुलाई समेत सरकारले आफ्नो नियन्त्रणमा लिएको उनले आरोप लगाए ।
३७ औं विपी स्मृति दिवसमा विपी कोइराला प्रतिष्ठान रामेछापले सोमबार सदरमुकाम मन्थलीमा आयोजना गरेको ‘विपी, न विगत न वर्तमान–एक अपूर्व विज्ञान’ विषयक विचार गोष्ठीमा बोल्दै नेता सिटौलाले यस्तो बताएका हुन् । उनले भने– बर्तमान सरकारले ‘प्रेस स्वतन्त्रततामाथि अतिक्रमण , उद्योग व्यवसायिक क्षेत्रमा दुख दिन र कर्मचारी प्रशासनका मानिसहरुलाई पुरै राजनीतिककरण गरेर धम्क्याउने खेलमा अहिलेको सरकार लागेको छ ।’
त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काग्रेसका युवा नेता गुरुराज घिमिरेले अहिले पनि विपीको इतिहासलाई सबैले सम्झिरहेको कुरा स्मरण गराउँदै अहिलेको कांग्रेस नेतृत्वले अहिलेको युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरे विपीको जस्तै ईतिहास बनाउन युवा पुस्ता लाग्ने बताए । नेता घिमिरेले नेपाली काग्रेसलाई एक ढिक्का बनाएर अर्को निर्वाचनमा नेकपालाई धुलो चटाउने गरी अहिले देखिनै नेपाली काग्रेस लाग्नु पर्ने धाराण राखे ।
कार्यक्रममा २०७५ सालको एस.इ.इ परीक्षामा रामेछापबाट उत्कृष्ट हुने विद्यार्थी र विभिन्न विषयमा विषयगत उत्कृष्ठता हासिल गराउन सफल हुने शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।
वीपी कोइराला प्रतिष्ठान रामेछापका अध्यक्ष रामकृष्ण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेस रामेछापका पार्टी सभापति लवश्री न्यौपाने लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सो अबसरमा मन्थली नगरपालिका स्थित वडा न १ भैसेश्वर डाँडामा बृक्षरोपण समेत गरिएको थियो ।