जनकपुस्थित पब्लिक युथ क्याम्पसले एकजना विद्यार्थीलाई प्रवेशपत्र नदिएका कारण उनी परीक्षा दिनबाट वञ्चित भएका छन्।
कक्षा १२ मा अध्ययनरत महोत्तरी एकडाँरा गाउँपालिका ४ बस्ने देवीन रायलाई कलेजले परीक्षा प्रवेश पत्र दिन नमानेपछि मंगलवार कक्षा ११ को आंशिक तर्फको चाइल्ड डेभेलपमेण्ट विषयको परिीक्षा दिनबाट बञ्चित भएका हुन्।
कक्षा ११ मा पढ्दा कलेजले मागे अनुसारको सम्पुर्ण रकम चुक्ता नगर्दा रायले परीक्षा दिन नपाएका हुन्। सोमवार प्रवेशपत्र लिन क्याम्पस पुगेका उनलाई प्रिन्सिपल एसएन झाले कलेजले मागेबमोजिमको रकम नतिरे प्रवेशपत्र नपाउने भन्दै धम्की दिँदै फर्काइदिएका थिए।
‘तिमी लेखा शाखामा जाऊ तिमीलाई उसले एक लाख रुपैँया तिर्न भने तिमीले एक लाख रुपैँया तिर्नैपर्छ,’ प्रिन्सिपल झाले भनेका थिए। पीडित विद्यार्थी रायले प्रवेश पत्र दिन बारम्बार आग्रह गरेपछि उनले अगाडि जहाँ जुन निकायमा जाने भए जाउ भन्दै क्याम्पसबाट निकालिदिएका थिए।
देवीनले कक्षा ११ मा १३ हजार रुपैँया चुक्ता गरिसकेको बताए। उनले क्याम्पसमा विद्यार्थी पठाए रजिष्ट्रेसन फि बाहेक अन्य शुल्क नलाग्ने सम्झौता भए पनि पछि नमान्दा १३ हजार रुपैंया तिरेको दावी गरे।
पब्लिक युथ क्याम्पसले यसअघि पनि विद्यार्थीसँग सम्झौता भन्दा बढी पैसा अशुल्ने गरेको आरोप लाग्दै आएको छ। शिक्षा संकायको स्नातक चौथो वर्षमा रिसर्च विषयमा प्रपोजल बापत अन्य क्याम्पसले लिदै नलिएको रकम समेत विद्यार्थीबाट सो कलेजले असुल गरेको थियो। क्याम्पसले प्रपोजलका लागि प्रति विद्यार्थी रु. २५ सयका दरले असुलेको थियो।