आइतबार एकाबिहानै आएको हावाहुरीले मानवीय क्षति नभएपनि धनुषामा ठुलो परिणाममा भौतिक क्षति भएको छ ।
आइतबार बिहान करिब साढे तीनबजे तिब्र गतिमा आएको हावाहुरीले धनुषामा करिब ४० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । हावाहुरीले जिल्लाको सयौँ घर क्षतिग्रस्त भएका छन । हावाहुरीका कारण विभिन्न स्थानमा फुसका घरहरु भत्किएका छन् भने ठाउँठाउँमा बिजुलीका पोल र ट्रान्सफर्मरहरु ढलेका छन् ।
हावाहुरीले जनकपुरसहित जिल्लाको विभिन्न स्थानमा विजुलीको पोल, टहरा, रुख भत्काएको छ । यस्तै ग्रामिण भेगमा बालिनालीलाई समेत क्षति पुर्याएको छ । हावाहुरीले धनुषामा एकसय भन्दा बढी विद्युतको पोल ढालेको छ । विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्र अन्तर्गत ५० वटा विजुलीको पोलसहित ३ वटा ट्रान्सफारमर पोष्ट समेत हावाहुरीले ढालेको प्राधिकरण प्रमुख सूर्यनारायण मण्डलले बताए ।
बिजुलीका पोल र ट्रान्सफर्मर ढलेपछि कतिपय ग्रामीण क्षेत्रमा विद्युत आपूर्ति ठप्प भएको छ । जनकपुरभित्र अपरान्हदेखि विद्युत आपूर्ति सुरु भएपनि ग्रामीण भेगहरुमा आपूर्ति नियमति हुन थप दुई तीन दिन लाग्न सक्ने विद्युत प्राधिकरणले जनाएको छ ।