मकवानपुरको राक्सिराङ गाउँपालिका ४ फुलबारी भन्ने गाउँमा गएराति लुटपाट भएको छ ।
प्रहरीको पोशाक लगाएका ५/६ जनाको समूहले स्थानीय अर्जुन घलान र ठूलीमायाँ ब्लोनको घरबाट नगद तथा गरगहना लुटपाट गरेको हो ।
घलानको घरबाट नगद १० हजार रुपियाँ तथा ब्लोनको घरबाट तिलहरी, मारवाडी, ढुंग्री लगायतका गरगहना लुटपाट भएको स्थानीयबासिन्दाले बताएका छन् । प्रहरी जस्तै देखिने मानिसहरु आएर ढोका खोल्न लगाएर नगद र गरगहना लुटपाट गरी उनीहरु भागेको बताइएको छ । प्रहरीको बर्दी लगाएका उनीहरुले मास्क पनि प्रयोग गरेका थिए ।
घटनाबारे ढिलोगरी जानकारी आएको भन्दै राक्सिराङ गाउँपालिका वडा नं ४ का अध्यक्ष ठाकुर कोइरालाले लुटपाटमा संलग्न हुनेहरुको खोजीका लागि पहल भइरहेको बताए । पछिल्लो समयमा प्रहरीले राक्सिराङ गाउँपालिका क्षेत्रमा गाँजा नियन्त्रण अभियानका लागि छापा मार्नेगरेको छ । प्रहरीको सिको गर्दै लुटेरा समूहले प्रहरीको बर्दी प्रयोग गरी लुटपाट मच्चाउने क्रम बढेको वडाअध्यक्ष कोइरालाले बताए ।