सीके राउतलाई मूलधारमा ल्याएर सरकारले ऐतिहाँसिक काम गरेको राष्ट्रिय सभाका सदस्य एबम् नेपाल कम्युनिष्ट पार्टीका नेता राम नारायण बिडारीले बताएका छन् ।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति समेत रहेका बिडारीले देशलाई टुक्राउने एजेण्डा बोकेको स्वतन्त्र मधेस गठबन्धनलाई मूल धारको राजनीतिमा ल्याउन सकेको भन्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको प्रशंसा समेत गरे ।
हेटौँडाको न्यूज क्लवमा आयोजित साक्षात्कारमा नेकपाकै प्रभावशाली नेताहरुबाट यो कार्यको आलोचना भइरहेकोप्रति कटाक्ष गरे । मूलधारमा ल्याएर सही मार्गमा हिँडाउने प्रयासको प्रशंसा गर्नुभन्दा पनि सहमतिका बुँदाहरुको अपब्याख्या गरेर केही नेताहरुले राम्रो भूमिका नखेलेको विडारीले बताए ।
गठबन्धनका नेता सीके राउतसँग भएको सम्झौतापछि मधेसी जनताको नाउँ बेचेर राजनीतिक मुनाफा लिइरहेका मधेसवादीको होस उडेको उनले सुनाए । सम्झौताको कार्यान्वयन सुरु हुने भन्दै पत्रकारले सोधेको प्रश्नको जबाफ दिँदै सभापति बिडारीले मधेसमा सीके राउत जाँदा उनका कार्यकर्ताले लगाएको नारा र बोकेको झण्डाका बिषयमा सरकार जानकार रहेको बताए ।
उनले भने–‘सरकार सम्झौता कार्यान्वयनमा लागेको छ, गठबन्धन पनि सम्झौता कार्यान्वयनको पृष्ठभूमि तयार गर्दैछ ।’ अचेल मिडियाहरुमा आइरहेको आलोचनाहरु झैँ सीके राउतका तर्फबाट बेइमानी भएमा उनी राजनीतिबाटै सकिने सभापति बिडारीले बताए । यदि त्यसो भएमा सरकारले तत्कालै एक्सन लिने उनको भनाई थियो । छुट्टै राज्यसहितको झण्डा बोकेर हिँड्ने र सरकारसँग गरेको ११ बुँदे सम्झौता उल्लंघन गरेमा राउतलाई कानूनी दायरामा ल्याई कारबाही गर्न संसदबाट सरकारलाई निर्देशन दिइने उनले उद्घोष गरे ।
एक अर्काे प्रसंगमा सभापति बिडारीले बिप्लवलाई बार्तामा ल्याउनुपर्नेमा जोड दिए । उनले सरकारले बिप्लव माओवादीलाई दमन गरेर जान लागेको भन्दै चिन्ता पनि व्यक्त गरे ।