‘मेरो बोली कसैले सुन्दैन यहाँ, किनकी यो दार्चुला होइन सिंहदरबार हो।’
केही दिनदेखि कर्णबहादुर बमको मनमा यस्तै–यस्तै कुराहरु खेलिरहेका छन्। मनमा निराशा छाएको छ। तर, आशा मरेको छैन। किनकी यो दार्चुला होइन, सिंहदरबार हो।
प्रधानमन्त्री कार्यालय अगाडि टहलिरहेका छन् कर्णबहादुर आशा र निराशाको भारी बोकेर। दौडिरहेका छन्, वरपर। कुनैबेला देखिन्छन् रुद्राक्षको बोटनिर, कुनैबेला उभिन्छन् कार्यालयको ढोकानिर।
शुक्रबार बेलुका ५ बजे। सिंहदरबार माथि आकाशलाई बादलले घेरिसकेको छ, मुसलधारे पानी पर्ला जस्तो भइरहेको थियो। सबै कार्यालयहरु खालिभइसकेका थिए। प्रधानमन्त्री कार्यालयमा भने चहपहल बढ्दो थियो। हप्ताको अन्तिम दिन शनिबार विदाको दिन भएकाले शुक्रबार नै मन्त्रिपरिषद बैठक बस्ने तयारीमा थियो। बैठकमा सहभागी हुन मन्त्रीहरु प्रधानमन्त्री कार्यालय आइरहेका थिए।
चाउरी परेका गालाहरुलाई ओठका कुनाहरुले तन्काउन सकेका छैनन्। कर्णबहादुरका आँखामा निराशा देखिन्छ छर्लङ्गै। थकानले उनका ओठहरु सुकेका छन्। सुकेका ओठहरुलाई जिब्रोले भिजाइदिन्छ। जिब्रोले भिजाइदिँदा समयले आहत दिएका बेला सायद उनले राहत महसुस गर्छन्। त्यसैले त पटक–पटक सुकेका ओठमाथि जिब्रोले लट्पट्याइ रहन्छन्।
जब मन्त्रीहरु गाडीबाट झर्छन् त्यतै दौडिन्छन् उनी। दृष्य कुनै अनौठो होइन। काम गरिदिने बचन पाएका मानिसहरु यो ठाउँमा यसैगरी मन्त्रीसामू उभिन्छन्। तर, मन्त्रीहरु कुनै वास्ता नगरी झण्डावाल गाडीमा बसेर निस्किहाल्छन्। उनी कसैले सरुवा–बढुवा गर्न त्यहाँ आएका होइनन्, न त कसैलाई जागिर खुवाउन। उनी आएका हुन्, दुवईमा मृत्युदण्ड पाएका आफ्ना छोरालाई बचाइदिन हारगुहार गर्न।
दार्चुलाको दुहु गाउँपालिकाबाट दुई दिने बाटो छिचोलेर राजधानी छिरेको आठ दिन भइसकेको छ। सिंहदरबार धाउन थालेको ६ दिन भइसकेको छ। दमका रोगी छन् कर्णबहादुर। खानाको प्रवाह छैन। बेलुका सुत्न मात्र जान्छन् होटलमा। केही दिनअघि बालुवाटार गएका थिए। तर, कर्णबहादुर सुरक्षाकर्मीले ढोकाबाट भित्र छिर्न दिएनन्। त्यसैले उनी आफन्तको सहयोगमा प्रधानमन्त्री भेट गर्न सकिन्छ भनेर प्रधानमन्त्री कार्यालयमा धाइरहेका छन्, दिनहुँ।
छोरा अमरबहादुर दुवईको जेलमा परेको १४ वर्ष पूरा भएर १५ वर्ष लागेको छ। अमरको रिहाईका लागि उनले देउतालाई भाकल गरेका छन्। तर, भाकलले मात्र कर्णबहादुरको चित्त बुझ्दैन। छोराको माया लागेपछि दौडिन्छन् काठमाडौंतिर। मन्त्री र नेतासँग छोरा बचाइदिन हारगुहार गर्न दशौं पटक काठमाडौं आइसकेका छन् उनी।
भारतमा ड्राइभिङ सिकेर सन् २००३ मा दुवई छिरेका अमर त्यसको तीन वर्षपछि हत्याको आरोपमा पक्राउ परे। अमरसहित तीन जनालाई हत्याको आरोपमा अदालतले मृत्युदण्डको सजाय सुनायो। तर, अर्का दुईजना आरोपीले अमर निर्दोष भएको बयान दिएको दाबी कर्णबहादुर गर्छन्। उक्त बयान सुन्न लागि नेपालको कार्यकारीले नै दुवईमा सम्पर्क गर्नुपर्ने युएई सरकारको माग भएकाले आफूले प्रधानमन्त्रीलाई भेट्न प्रयास गरिरहेको उनी बताउँछन्।
जेल परेको ४ वर्षसम्म त अमर कहाँ छन् भन्ने उनको परिवारले थाहै पाएन। अमरले पनि घरमा जानकारी पनि गराएनन्। अमर घरबाट दिल्ली हिँडेका थिए। त्यसैले सुरुका ४ वर्ष कहाँ खोज्ने भनेर अमरको परिवारले कुनै भेउ पाएन। सन् २००९ मा अर्जुनबहादुर थापा युएईका लागि नेपाली राजदूत भएका बेला मात्रै अमर जेल परेको खबर बाहिर आयो। र, कर्णबहादुरले पनि त्यतिबेलै थाहा पाए।
२०७४ कात्तिक २७ गते राष्ट्रपति विद्यादेवी भण्डारी युएई गएका बेला त्यहाँका राजासँग भेट गरेको खबर कर्णबहादुरले पनि पाए। अमर छुट्यो भनेर त्यो बेला उनको परिवारले खुसीयाली मनायो। तर, त्यो खुसीयाली धेरै समय टिकेन। अमर नेपाल फर्किएनन्।
कर्णबहादुरले आफ्ना कुल देवता कोल्से, केदार र ब्रह्मासँग भाकल समेत गरेका छन्। कर्णबहादुरले बेला–बेला छोरोलाई सपनामा देख्न थालेका छन्। उनी भन्छन्,‘छोरो छकालै (विहानै) आयाको सुइना (सपना) देक्छु।’