सरकार बिरुद्ध आक्रामक बनेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ३ नं प्रदेशको राजधानी हेटौँडामा सोमबार प्रदर्शन गर्ने तयारी गरेको छ ।
काँग्रेसले हेटौँडा बजारको मुख्य क्षेत्रमा प्रदर्शन गर्न लागेको हो । यसका लागि हेटौँडा बजार प्रवेश गर्ने चारवटा नाकाबाट एकसाथ जुलुस निकाल्ने तयारी गरिएको जनाइएको छ । नेपाली काँग्रेसले प्रदर्शनमा १० हजार मानिस उतार्ने दाबी गरेको छ ।
नेपाली काँग्रेसले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रबक्ता प्रदीप कोइरालाले हेटौँडा बजार प्रवेश गर्ने चारैवटा नाकाबाट हरेक नाकामार्फत कम्तीमा २ हजार ५ सय कार्यकर्ता तथा समर्थकहरु सहभागी हुने दाबी गरे । उनका अनुसार हेटौँडा बजार प्रवेश गर्ने पश्चिम नाकाको रुपमा जिल्ला प्रहरी कार्यालय क्षेत्र, पूर्वतर्फ सानोपोखरा, उत्तरतर्फ भीमफेदी बसपार्क र दक्षिणतर्फ फरेस्ट्री क्याम्पसबाट एकसाथ जुलुस निस्कनेछ ।
कार्यक्रममा प्रतिनिधि सभाका प्रमुख सचेतक एबम् नेपाली काँग्रेस केन्द्रीय सदस्य पुष्पा भुषाल प्रमुख अतिथिको रुपमा सहभागी हुन आउने पार्टी प्रबक्ता कोइरालाले बताए ।
कार्यक्रमलाई व्यवस्थित गर्नका लागि हरेक नाकामा नेतृत्वकर्ता तोकिएको छ । तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ लगायत सबै भ्रातृ संगठनहरुलाई बाक्लो उपस्थितिका लागि काँग्रेसले आग्रह गरेको छ । भ्रातृ संगठनहरुले पनि छुट्टा छुट्टै बैठक बसी जुलुसमा सहभागिता बढाउनका लागि तयारी गरेका छन् ।
निर्मला पन्त बलात्कार घटनाको छानबीन, बढ्दो महँगीको अन्त्य, भ्रष्टाचार नियन्त्रण, असुरक्षा लगायत बिषयमा काँग्रेसले सरकारविरुद्ध प्रदर्शन गर्न लागेको हो ।