नुवाकोटको घ्याङफेदीमा भएको दुर्घटनाका मृतक २२ जनाको परिवारलाई प्रति परिवार एकलाख रुपियाँको दरले रकम सहायता प्रदान गरिने भएको छ ।
३ नं प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद बैठकले मृतक परिवारलाई सहायता दिने निर्णय गरेको हो । गत मंसीर २८ गते नुवाकोटको दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीबाट आफन्तको घेवा (किरिया) सकेर सोही वडाको फिसिपु गाउँ जाँदै गर्दा मिनी ट्रक दुर्घटना भएको थियो । दुर्घटनामा परी २२ जनाको ज्यान गएको थियो । तीमध्ये २१ सोही गाउँकै थिए । ३ नं प्रदेश राजधानी हेटौँडास्थित मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले सहायता रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले माघ १६ गते पर्ने सहिद दिवसमा बिदा दिने निर्णय पनि गरेको छ । त्यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेको प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणिकरण ऐन २०७४ लाई संसोधन गर्न बनेको बिधेयक स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले पेस गरेको विशेष अनुदान अन्तर्गतका योजना तथा कार्यक्रम स्विकृत गर्ने, नेपाल सरकारबाट प्रदान गरिने समपुरक अनुदका योजना पठाउने पनि निर्णय गरेको छ । भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पेस गरेको सामुहिक खेती प्रबद्र्धन कार्यक्रम कार्यन्वयन कार्यविधि २०७५ को मस्यौदा स्वीकृत गर्ने, कृषि वन प्रबद्र्धन कार्यक्रम कार्यविधि २०७५ को मस्यौदा स्वीकृत गर्ने समेत निर्णय गरेको छ ।
यसैगरी सामाजिक बिकास मन्त्रालयले पेस गरेको प्रदेश आपतकालीन बाल संरक्षण कोष कार्र्यविधि २०७५ स्विकृत गर्ने संघीय सरकार अन्तर्गत ३ नम्बर प्रदेश भित्रका मकवानपुर, रसुवा, दोलखा, सिन्धुपाल्चोक, धादिङ चितवनमा रहेका महिला तथा वालबालिका कार्यालयका भवन तथा निर्माणाधिन भवन प्रदेश सरकारलाई हस्तान्तरण गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको भएको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले बताए ।