कार्यबाहक प्रधानमन्त्री इश्वर पोखरेलले नेपालका दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएर विश्वलाई छुट्टै सन्देश दिएको बताएका छन् ।
हेटौँडास्थित तत्कालीन नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै कार्यबाहक प्रधानमन्त्री समेत रहेका पोखरेलले विश्वमा नै कम्युनिष्टहरु जुट्न पनि जान्दछन् भन्ने सन्देश दिइरहँदा फेरि पनि एकता टुटाउनका लागि केही शक्ति लागेको बताए । तर अस्थिरता चाहनेहरुको त्यस्तो तिकडम सफल नहुने उनले ठोकुवा गरेका छन् ।
उनले कम्युनिष्ट नेतृत्वको सरकारको ९ महिना पूर्ण रुपमा सफल भएको दाबी गरे । कम्युनिष्ट नेतृत्वको सरकार नेपालमा प्रणाली नै परिवर्तन भएको समयमा बनेको भन्दै यसलाई एउटा अबसरको रुपमा पार्टीलिे लिएको बताए ।
९ महिनाको अन्तरालमा कानुन निर्माणसहितका महत्वपूर्ण विकासको कामहरु समेत अघि बढाइएको उनको दाबी रहेको छ । पार्टी एकताको प्रसंगमै उनले तल्ला कमिटीहरु तथा भातृ संगठनको एकता अब छिट्टै हुने बताए । एकतामा अलमल हुँदा संगठन नचलेको अनुभूति सबैलाई भएकाले एकताका लागि अब धेरै समय नलाग्ने उनले बताए । उनले जिल्लातहमा सकेसम्म आफै एक भएर आए केन्द्रलाई सहज हुने समेत धारणा व्यक्त गरे ।