नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश नम्बर ५ का जिल्लाहरुमा सिफारिस भएका अध्यक्ष र सचिवको नाम स्वीकार्य नहुने भन्दै एकलौटी गरिएमा समानान्तर कमिटी बनाउने चेतावनी दिएका छन्।
नेकपाका प्रदेश नम्बर ५ का एक नेताका अनुसार प्रदेश ५ का जिल्ला अध्यक्ष र सचिव सिफारिस एकपक्षीय भएकोमा आपत्ति जनाउँदै नेता नेपालले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सच्याउन दबाब दिएका छन्। यो प्रदेशका १२ जिल्लाका अध्यक्ष र सचिवको सिफारिसमा ओली पक्षले एकलौटी गरेको नेपाल पक्षको आरोप छ।
कार्यदलमा समेत रहेका ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल पक्षीय नेताहरुलाई पाखा लगाएर ओली पक्षधर नेताहरुलाई अध्यक्ष र सचिवको जिम्मेवारी दिएका छन्। ती नेताका अनुसार पोखरेलकै डिजाइनमा नेपाल पक्षीय अध्यक्ष बन्ने जिल्लाको नेतृत्व तत्कालीन माओवादीलाई दिइएको छ।
रुपन्देहीको विवाद सतहमा आइसकेको छ। तत्कालीन एमालेभित्रको सिफारिसप्रति असन्तुष्टि जनाउँदै पार्टी उपाध्यक्ष पुरुषोत्तम घिमिरेले अध्यक्षद्वय ओली र प्रचण्ड तथा महासचिव विष्णु पौडेललाई साउन ३१ गते ध्यानाकर्षणपत्र पठाएका छन्। कार्यदलले आफूसँग एक पटक पनि परामर्श नगरेकोप्रति घिमिरेले आक्रोश पोखेका छन्। कार्यदलले पार्टी प्रदेश कार्यालय सचिव गोपाल भट्टराईलाई रुपन्देही जिल्ला अध्यक्ष सिफारिस गरेको छ। भट्टराई ओली पक्षका हुन् भने घिमिरे नेपाल पक्षीय।
ध्यानाकर्षण पत्रमा घिमिरेले आफू साविक जिल्ला कमिटीको उपाध्यक्ष भएर कार्यवाहक अध्यक्ष भई स्थानीय निर्वाचन, मेची महाकाली अभियानजस्ता महत्वपूर्ण अभियान सफलतापूर्वक सञ्चालन गरेको, त्यसले परिणाम पनि दिएको र साविक अध्यक्ष शिव सुवेदी बुटवलको मेयरमा निर्वाचित भएपछि एकता प्रक्रियामा स्वाभाविक रुपमा साविक एमालेले अध्यक्ष पाउँदा आफू अध्यक्षमा सिफारिस हुनुपर्ने उनको दाबी छ। आफ्नो इच्छा र सहमति विपरीत अन्य व्यक्तिका पक्षमा सिफारिस हुनु प्राकृतिक न्यायको सिद्धान्त विपरीत भएको भन्दै उनले यसबाट पार्टीमा विधि र लोकतन्त्र दुवैको अपमान भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन्।
उता, प्रदेश नम्बर १ का इलाम, झापा, मोरङ, भोजपुर, संखुवासभा, तेह्रथुम र धनकुटामा तत्कालीन एमालेले अध्यक्ष र सचिव माओवादीले पाउने तथा प्रदेश कमिटीको अध्यक्ष तत्कालीन एमालेले र सचिव माओवादीले पाउने सहमति भएको छ।
प्रदेश कमिटिको अध्यक्षमा तत्कालीन एमालेका आकंक्षी धेरै भएपछि सर्वसम्मत नाम पठाउन गाह्रो भएको छ। अध्यक्षका लागि जगन्नाथ खतिवडा, नरेश खरेल, घनेन्द्र बस्नेत, जयन्ती राई, देवराज घिमिरे लगायतको दाबी छ। सचिवमा भने तत्कालीन माओवादीबाट सावित्रीकुमार काफ्लेको नाम पक्का जस्तै छ।
प्रदेश नम्बर १ का बाँकी जिल्ला सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, ताप्लेजुङ, पाँचथर र सुनसरीमा नेतृत्व कसले लिने भन्ने विवादको समाधान भएको छैन। तत्कालीन एमालेले यीमध्ये ३ जिल्लाको नेतृत्व आफूले लिएर बाँकी माओवादीलाई दिन खोजेको छ। तर, ६ जिल्लाको अध्यक्ष आफूूले पाउनुपर्ने माओवादीको दाबी छ।