बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्सटेक)को चौथो शिखर सम्मेलनमा सहभागी नेपाल आउन लागेका अति विशिष्ट पाहुनाका लागि विशेष सुरक्षा संयन्त्र तयार पारेको छ।
सरकारले गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा एकीकृत सुरक्षा योजना बनाएको थियो। त्यही एकीकृत सुरक्षा योजना अनुसार भीभीअइपीको सुरक्षा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीन सुरक्षा निकायले तीन घेरामा बसेर गर्ने छन्।
तर, नेपालमा कम मात्र प्रयोगमा आउने उच्चस्तरको सुरक्षा रणनीतिमै मित्र राष्ट्रहरुले शंका गरेका छन्। नेपालको सुरक्षा संयन्त्रमा शंका गर्दै सम्मेलनका सहभागी हुन आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन माइन्ट र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले आफ्नै देशबाट हतियारसहितका सुरक्षाकर्मी ल्याउने भएका छन्।
भदौ १४ र १५ गरी दुई दिन चल्ने बिम्सटेक सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चानओचा, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति माइथरीपला सिरिसेना, म्यानमारका राष्ट्रपति विन माइन्ट नेपाल आउँदैछन्। भारतीय प्रधानमन्त्री मोदीको सुरक्षार्थ भारतीय सेनाको कमाण्डो मंगलबार नै काठमाडौं आइपुगेके छ। भारतीय प्रधानमन्त्री मोदीले प्रयोग गर्ने तीन वटा बुलेटप्रुफ कारसहित सेनाको १३ जना कमाण्डो भारतीय वायु सेनाको जहाजबाट आएका हुन्।
मित्रराष्ट्रका प्रधानमन्त्री र राष्ट्रप्रमुखसँगै सुरक्षाका लागि आउने सुरक्षाकर्मी र उनीहरुले ल्याउने हतियारको बारेमा मन्त्रालयलाई पत्र आइसकेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौड्यालले स्पेसखबरलाई बताए। उनका अनुसार पाहुनासँगै सुरक्षाकर्मी आउने र उनीहरुले भित्र्याउने हतियार उनीहरुको देशको सुरक्षा प्रोटोकल अनुसार नै तय भएको हो। ‘उनीहरुले यति जना सुरक्षाकर्मी र यता हतियार ल्याउँदैछौं भनेर परराष्ट्र मन्त्रालयलाई पत्र पठाइरहेका छन्,’ प्रवक्ता पौड्यालले भने।
पाहुनालाई सुरक्षा दिन के नेपाल सक्षम छैन?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत बैशाखमा दुई दिने (२८–२९) नेपाल भ्रमणम सम्पन्न गरेर फर्किएपछि संघीय संसदमा विपक्षी दलका सांसदहरुले बारम्बार एउटै प्रश्न गरिरहे– नेपालका सुरक्षाकर्मी पाहुनालाई सुरक्षा दिन सक्षम छैनन्? भारतबाट सिधै जनकपुर आएका मोदीले आफुसँग हतियारसहित सुरक्षाकर्मीको जम्बो टोली ल्याएका थिए। यही विषयलाई लिएर नेपालका सुरक्षा निकायहरुले आलोचना गरेका थिए।
बिम्सटेक सम्मेलनमा आउने विशिष्ट पाहुनाको सुरक्षाका लागि नेपाल प्रहरीको तर्फबाट नेतृत्वदायी भूमिकामा रहेका प्रहरी नायब महानिरीक्षक मनोज न्यौपानेका अनुसार नेपालको सुरक्षा संयन्त्रमा कसैले पनि शंका गर्नुपर्ने ठाउँ नरहेको बताउँछन्। उनका अनुसार बिम्सटेक सुरक्षाका लागि सुरक्षा निकायहरुले राजधानीमा केही महिना अघिदेखि नै तयारी गरिरहेको थियो।
बिमस्टेक सम्मेलनका लागि सुरक्षा व्यवस्था कडा भएकाले यसमा शंका गर्नुपर्ने कारण नरहेको बताउँछन् नेपाली सेनाका प्रवक्ता सहायकरथी गोकुल भण्डारी। ‘पहिलो घेरामा नेपाली सेनाले नेतृत्व गर्छ,’ प्रवक्ता भण्डारीले भने,‘आवश्यकता अनुसार पर्याप्त सैनिक परिचालन गर्ने गरी सुरक्षा योजना बनेको छ। सेनाको नेतृत्वमा बनेको सुरक्षा संयन्त्रमा सशस्त्र र नेपाल प्रहरीले सहयोग गरेका छन्।’
आतंकवादीको खतरा
अत्याधुनिकरुपमा प्रशिक्षित भारतीय स्पेशल प्रोटेक्सन ग्रुप्स (एसपीजी)ले आफ्ना देशका कुनैपनि भीभीआइपी विदेश भ्रमणमा जाँदा त्यसको समिक्षा गर्छ। सुरक्षा मामिलाका जानकारहरुका अनुसार नेपालमा मोदीलाई कति सुरक्षा थ्रेट छ भनेर सबै कुराको जाँचबुझ गरेर उनीहरुले योजना बनाउँछन् र त्यसै अनुसार पठाउँछन्। एसपीजीकै सुरक्षा आंकलन अनुरुप नै मोदीले नेपालमा हतियारसहितका सुरक्षाकर्मी ल्याउने गरेका छन्। मोदीको हिन्दुत्व नीतिका कारण विश्वका प्रख्यात आतंकवादी समुहबाट मोदीलाई खतरा रहेको सुरक्षा मामिलाका जानकारहरुले बताउँदै आएका छन्।
केन्द्रीय सुरक्षा समितिले बिमस्टेक बैठकमा सहभागी हुने विशिष्ठ पाहुनाहरुलाई रोहिंग्या शरणार्थीदेखि लिबरेसन अफ तमिल टाईगर इलम लिट्टेसम्मबाट खतरा रहेको विश्लेषण गरेको छ। समिति स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद र श्रीलंकाका राष्ट्रपति मैत्रीपला सिरिसेनालाई सबैभन्दा बढी सुरक्षा खतरा छ। नेपालमा इन्डियन मुजाहिद्दिन आईएम अतिवादी र आतंकवादी संगठन समेतको उपस्थिति देखिएको गुप्तचर निकायका विभिन्न प्रतिवेदनले देखाएको छ।