साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले गणतन्त्रमाथि खतरा आयो भन्ने दलका नेताहरुको अभिव्यक्ति आफ्ना कमिकमजोरी ढाकछोप गर्ने प्रयासको भएको बताएका छन् ।
उनले गणतन्त्रमाथि अरु कसैबाट खतरा नभएर दलका नेताहरुको असक्षमताका कारण खतरा उत्पन्न हुन सक्ने बिचार व्यक्त गरे ।
आइतबार बिुटवलमा पत्रकारहरुसँग कुरा गर्दै संयोजक मिश्रले गणतन्त्रमाथि खतरा आयो भन्ने दलका नेताहरुको अभिव्यक्तिलाई ‘नाच्न नजान्ने आगन टेढो’ को संज्ञा दिए ।
राजा र राजतन्त्रवादीहरुको गलत क्रियाकलापका कारण राजतन्त्र अन्त्य भएको भन्दै उनले बर्तमान सरकार र केही गणतन्त्रवादी नेताहरुका कमि कमजोरीका कारण गणतन्त्र खतरामा पर्न सक्ने बताए ।
पुराना राजनीतिक दलहरुले जनतालाई राजनीतिक मायाजालमा पारेर राखेको भन्दै संयोजक मिश्रले जनता पुराना दलको राजनीतिक माया जालबाट बाहिर ननिस्किएसम्म मुलुकको समृद्धि सम्भव नभएको दाबी गरे ।
देशको परिस्थिति गम्भिर भए पनि जनता देशको परिस्थितप्रति गम्भिर नभएको भन्दै मिश्रले सचेत युवाहरुले देशको परिस्थितिबारे गम्भिर भएर सोच्ने बेला आएको बताए ।
कार्यक्रममा बोल्दै पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले राजनीतिक दलहरुको कमि कमजोरीका कारण उत्पन्न समस्या जनताले बिस्तारै बुझ्दै जान थालेको भन्दै त्यो पिडा र आक्रोस कुनै दिन बिस्फोटको रुपमा देखा पर्ने बताए ।