बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्सटेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन भारत, भुटान, बंगलादेश, म्यानमार, थाइल्याण्ड र श्रीलंका राष्ट्र प्रमुखहरु मंगलबार काठमाडौं आउँदैछन्। १४ र १५ भदौमा हुने बिम्सटेक सम्मेलनमा सहभागी हुन आउने राष्ट्राध्यक्षहरुको सुरक्षाका लागि सरकारले विशेष सुरक्षा रणनीति अवलम्बन गरेको छ।
भीभीआइपीको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आफ्ना अब्बल टोलीलाई राजधानीको निगरानीमा खटाएको गृह मन्त्रालयले जनाएको छ। गृहका अनुसार आयोजक राष्ट्रका रुपमा सबै भीभिआइपीको सुरक्षाको जिम्मा नेपालकै भएकाले बेलामैकामा मात्र प्रयोग हुने उच्चस्तरको सुरक्षा रणनीति तीनवटै सुरक्षा निकायले अवलम्बन गरेका छन्।
त्यस्तै भीभिआइपीको सुरक्षा पनि तीनवटै सुरक्षा निकायले तीन घेरामा दिने भएका छन्। ‘अति विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि–२०७०’ अनुसार सरकारले सुरक्षा योजना तयार पारेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीले बताए। उनका अनुसार भीभीआइपी सुरक्षाको लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरीको सुरक्षा घेरा रहने छ।
’तीनवटै सुरक्षा निकायले भीभीआइपी सुरक्षाका निम्ति उत्कृष्ट सुरक्षा टोली खटाएको छ’ प्रवक्ता सुबेदीले भने,‘पाहुनाहरुको सुरक्षमा तीनवटै सुरक्षा निकायले यसलाई विशेष प्रथामिकतामा राखेका छन्।’
पूर्वाभ्यास स्वरुप सोमबार भीभीआइपीको सुरक्षा सावधानीका लागि सुरक्षा निकायले रिहर्सल गरेका छन्। त्रिभुवन विमानस्थलदेखि पाहुना बस्ने होटलका साथै सम्मेलनस्थल र डिनरका लागि तय गरिएको स्थानसम्म ग्रान्ड रिहर्सल गरिएको हो। भिभिआइपीको गाडीलाई नेपाल प्रहरीका सात वटा मोटरसाइकलले कभर गरेका थिए भने पाहुना चढेको गाडीको सबैभन्दा अगाडि मोटरसाइकल, त्यसपछि नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को गाडी र त्यसपछि नेपाली सेनाको गाडीले सुरक्षा दिएको थियो।
त्यस्तै नेपाली सेनाको गाडीभन्दा पछाडि रहेका भीभीआइपीको गाडीलाई नेपाल प्रहरीका ४ वटा मोटरसाइकलले कभर दिएका थिए। रिहर्सलमा नेपाली सेनाका सुरक्षा अधिकारीको गाडी र त्यसपछि प्रहरीको गाडीले स्कटिङ गरेको थियो। बिम्सटेक सम्मेलनमा करिब ४ हजार सशस्त्र प्रहरी बलका सुरक्षा अधिकारीहरु परिचालिन हुने गृह मन्त्रालयले जनाएको छ।