राष्ट्रिय जनमुक्ति पार्टीले सुरु गरेको भ्रष्टाचारविरुद्धको राष्ट्रिय अभियानअन्तर्गत रुपन्देहीका विभिन्न स्थानमा हस्ताक्षर संकलन जारी राखेको छ। पार्टीको केन्द्रीय कार्यक्रमअनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राममा आयोजित कार्यक्रमलाई पार्टी उपमहासचिव टोप अस्लामीले सम्बोधन गर्दै देशमा नीतिगत भ्रष्टाचार बढेको बताए। उनले पार्टीले अभियानमार्फत् उठाएका मुद्दा वर्तमान सरकारले बेलैमा सम्बोधन गर्नुपर्नेमा जोड दिए।
‘देशलाई समृद्धितर्फ लैजान मुलुकभित्र संस्थागत भईसकेको भ्रष्टाचार निर्मूल पार्न कडा कानुन संविधानमै व्यवस्था गर्नुको विकल्प छैन,’उनले भने।
उनले भ्रष्टाचारीलाई शिर ठाडो गरेर हिंड्ने मौका वर्तमान सरकारले दिईरहेको पनि औंल्याए। भ्रष्टाचार देशद्रोह भएकाले कम्तीमा पनि जन्मकैदको व्यवस्था र भ्रष्टाचारीको सम्पूर्ण सम्पत्ति राज्यकोषमा दाखिला गर्ने संवैधानिक व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।
यस्तैगरी, संघीय परिषद सदस्य एवं भ्रष्टाचारविरूद्ध राष्ट्रिय अभियान रूपन्देही संयोजक भीमबहादुर रानाले भ्रष्टाचारविरूद्ध फैसला गर्ने छुट्टै विशेष अदालतको व्यवस्था हुनु पर्ने बताए।
कार्यक्रममा जनमुक्ति युवा महासंघका ५ नम्बर प्रदेश संयोजक डिबी थापा, संघीय परिषद सदस्य एवं राष्ट्रिय महिला मोर्चाका महासचिव गीता सारु, छत्र दर्लामी, प्रदेश अध्यक्ष झमबहादुर गुरुङ्ग लगायतले बोल्दै अभियानलाई निरन्तर अघि बढाउनु पर्ने बताए।
यसैगरी भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियानअन्तर्गत बुटलको जेसिस चोकमा पनि हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संयोजक थर्क बाह्रघरेले भ्रष्टहरूलाई कडा कारवाही आवश्यक भएको बताए । दुवै स्थानमा गरि दुई हजारभन्दा बढी हस्ताक्षर संकलन गरिएको थियो। सो पार्टीले एक महिनाअघिबाट भ्रष्टाचार विरुद्धको राष्ट्रिय अभियान शुरु गरेको हो। यसरी संकलन गरिएको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाईने पार्टीले जनाएको छ।