परराष्ट्र मन्त्री तथा नेकपाका स्थायी समिति सदस्य प्रदिप ज्ञवालीले सरकार र कर्मचारीबीच तालमेल नमिलेका कारण सरकारको काम नदेखिएको बताएका छन् । उनले तिव्रताका साथ काम गर्न चाहने सरकार र कार्यान्वयन गर्ने कर्मचारीकाबीच दुरी रहेको पनि बताए ।
बुटवलमा शनिवार आयोजित कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले नयां परिवर्तन र जनताको चाहानालाई आत्मसाथ गर्न नसक्दा र लामो प्रक्रियाको पुरानै ढांचामा कर्मचारी संयन्त्र रहेकाले जनताले परिवर्तनको अनुभूति गर्न नसकेको दाबी गरे ।
नेता ज्ञवालीले गुठी संचालनलाई नियमन गर्न खोज्दा सरकारले समस्या भोग्नु परेको बताउंदै एकै तीरले दुई शिकार गर्न खोज्दा सरकार पछाडी हट्न बाध्य हुनुपरेको स्पष्ट पारे ।
अर्को प्रशंगमा उनले पार्टी एकिकरणका अधिकांश काम सम्पन्न भएको बताए । उनले पार्टीको पोलिटब्यूरो बन्न पनि सक्ने र नबन्न पनि सक्ने बताए । पोलिटब्यूरो नहुंदैमा पार्टी संचालनमा समस्या नआउने नेता ज्ञवालीको भनाई छ । कार्यक्रममा रुपन्देही जिल्ला अन्तर्गतका पार्टीको अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।