नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)लाई सबै जनवर्गीय संगठन, प्रदेश र केही जिल्ला एकता गर्न सकस भएको छ। एकीकरण कार्यदलहरूले समयमै प्रतिवेदन बुझाउन नसकेको र एकता प्रक्रियामा विवाद भएपछि प्रदेश, केही जिल्ला र जनवर्गीय संगठनहरुको एकता टुंगो समयमै लाग्न सकेको छैन।
नेकपाको सचिवालयले प्रदेश र जिल्ला तह तथा जनवर्गीय संगठन एकीकरणका लागि छुट्टाछुट्टै कार्यदल बनाएर एकीकरणसम्बन्धी प्रस्ताव तयार पार्न निर्देशन दिएपनि कतिपय एकता कार्यदलले अझै प्रतिवेदन बुझाउन सकेका छैनन्। पार्टीको ६१ जिल्ला कमिटीकोलएकता टुंगिएपनि नेता माधव नेपाल पक्षधर असन्तुष्ट भएका छन्।
नेकपा सचिवालय अनुसार प्रदेश ३, ५ र ७ का साथै गण्डकी र कर्णाली प्रदेशले एकीकरण प्रतिवेदन बुझाएपनि प्रदेश १ र २ ले भने तोकिएको समयावधिभित्र प्रतिवेदन बुझाउन सकेका छैनन्। त्यस्तै कर्णाली प्रदेशको प्रतिवेदन अझै अपुरै छ भने प्रदेश ५ का जिल्लाहरु बाँडफाँड गरिएपनि विवाद देखिएको छ। ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल संयोजक रहेको कार्यदलले जिल्लाको नेतृत्व बाँडफाँड गरेपनि नेता नेपाल पक्षधर नेताहरुले आपत्ति जनाउँदै केन्द्रीय कार्यालयमा विरोधको सूचना दर्ता गरेका छन्।
विधि, प्रक्रिया र मापदण्ड बनाएर निर्देशन दिए पनि केही कार्यदलले प्रतिवेदन बुझाउन बाँकी नै रहेका कारण एकतामा ढिलाइ भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ बताउँछन्। ‘हामीले केही दिन म्याद थपेका छौं त्यसपछि मात्र एकताको प्रक्रिया अगाडि बढ्छ।’ उनले भने।
जनवर्गीय सङ्गठनहरुको समय सकियो
नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)ले जनवर्गीय सङ्गठनको एकताको टुंगो लगाउन पनि उत्तिकै सकस भएको छ। नेकपा नेतृत्वले सबै जनवर्गीय सङ्गठनको एकता भदौ ५ गतेभित्र गरिसक्न निर्देशन दिएपनि संगठनहरुको एकता हुन नसकेको हो।
अझै नेकपाले जिफन्डका १८ र अखिल नेपाल ट्रेड युनियन महासंघका २५ साना संगठनबीच एकताको टुंगो लगाउन सकेको छैन। तत्कालीन नेकपा (एमाले) को नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र नेकपा (माओवादी केन्द्र) को अखिल नेपाल ट्रेड युनियन महासंघबीच एकता हुन अझै तीन महिना लाग्ने भएको छ।
चाँडै गर्न अन्तिम गृहकार्य भए पनि मजदुर सङ्गठनको एकता भने लम्बिने भएको छ। कार्यदलका एक सदस्य अनुसार अन्य भातृ सङ्गठनको एकताका लागि नाम, नेतृत्वमा विवाद भइरहेको बेला मजदूर सङ्गठनले भने आफ्ना मातहतका २२ वटा संगठनको एकता गर्न छलफल चलाइरहेको छ।
संगठन श्रम कार्यालय र श्रम विभागमा दर्ता भएकाले ती संठनलाई कानूनद्वारा खारेज गर्नुपर्ने र फेरि दर्ता गर्नुपर्ने भएकाले ती दुई मजदूर संगठनको एकता प्रक्रिया लम्बिने देखिएको हो।
दुई मजदुर संगठनको एकताका लागि विनोद श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय कमिटी गठन गरिएको छ। समितिले साना संगठन एकता गर्दै जिफन्ट र अन्टुफबीच एकता गर्ने छ। २२ साना संगठनको पहिले एकता गर्ने कार्यदलको योजना छ। ती संगठनको फरक–फरक एकता उपसमिति गठन गरेर एकता गर्ने छन्। उपसमितिले दुई महिनाभित्र एकता गर्न प्रतिवेदन बुझाएपछि कार्यदलले ती घटकको एकता गर्नेछ। त्यसपछि मात्र जिफन्ट र अन्टुफबीच एकता हुनेछ।
अहिले नेकपाका युवा, विद्यार्थी, महिला, उद्योग, खेलकुदजस्ता सङ्गठन एकताको अन्तिमचरणमा छन्। मजदुर संगठनको एकताको कार्यदलमा विष्णु रिमाल, जयपुरी घर्ती, विनोद श्रेष्ठ र गणेश रेग्मी छन्।