राष्ट्रपति विद्यादेवी भण्डारीले तराई मधेसको कृषि भूमीमा उत्पादनमा कमी आउनु दुःखद् भएको बताएकी छन्।
जानकी नवमीको अवसरमा जानकी मन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषिमा आधुनीकिकरण र उत्पादन बढाउनु पर्नेमा जोड दिइन्।
चुरे क्षेत्रको वातावरण संरक्षणमा ध्यान दिई पर्यावरण सन्तुलन कायम र स्थानीय श्रोत र साधनको भरपुुर उपयोग गरेर आर्थिक समृद्विमा अग्रसर हुन समेत राष्ट्रपति भण्डारीले आग्रह गरिन्।
उनले प्रदेश २ सरकारले शुरु गरेको ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानको प्रशंसा गरिन्। सीता नवमीको अवसरमा प्रदेश २ को राजधानी पुगेकी राष्ट्रपति भण्डारीले भनिन् ‘यो अभियान सही ढंगले अगाडि बढिरहेकाले प्रशंसा गर्न चाहन्छु।’
यो अभियानलाई उनले सामाजिक चेतना र जागरणको महत्वपूर्ण पाटोको संज्ञा समेत दिइन्। उनले कतिपय सामाजिक विकृति र विसंगति विद्यमान रहेको भन्दैे चिन्ता व्यक्त गरिन्। ‘यो चिन्ताको बिषय हो’ उनले भनिन्,’यसको अन्त्यका लागि कृयाशील व्यक्तिलाई अगाडि आउनु जरुरी छ।’
कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी नवमीलाई संघीय सरकारले राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने धारणा राखे। प्रदेश सरकारले प्रादेशिक रुपमा मनाउँदै सोमबार विदासमेत दिएको छ। राष्ट्रपति जानकी मन्दिर पुगेर पुजाअर्चना समेत गरेकी छिन् । उनी करिब १५ मिनेट पूजाअर्चना गरेकी थिइन्।