संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) ले पार्टी एकताका लागि महिनौदेखि चिठ्ठीपत्र आदान प्रदान गरिरहेका थिए। पार्टी एकीकरणका लागि तत्कालीन संघीय समाजवादी फोरमले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा महासचिव रामसहाय यादव, रकम चेम्जोङ, महेन्द्र थापा, मोहम्मद इस्तियाक राईन र प्रकाश अधिकारी रहेको ६ सदस्यीय वार्ता समिति बनाएर राजपालाई औपचारिक पत्र पठाएको थियो।
१९ पुस २०७५ मा राजपालाई पार्टी एकिकरणको लागि समितिले लिखित प्रस्ताव पठाएपछि ३० फागुनमा राजपाले त्यसको जवाफ पठाएको थियो। जवाफमा अध्यक्ष मण्डलका तत्कालीन संयोजक महेन्द्रराय यादवले हस्ताक्षर गरेका थिए। १२ चैतमा पार्टी अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षरमा फोरमले जवाफ पठायो। तर, दुई पार्टीबीचको एकता प्रयास पत्राचारमै सीमित रह्यो।
यसैबीच, उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले एक्कासी एकताको हात मिलाएसंगै नयाँशक्ति पार्टी र फोरमबीच एकता भई समाजवादी पार्टीको घोषणा भयो। लामो समयदेखि राजपा र फोरमबीच एकता हुने चर्चा चल्दै आएपनि नयाँ शक्ति र फोरमबीच एकीकरण भइ घोषणा भएको समाजवादी पार्टीमा राजपा भने अटाउन सकेन।
तराई मधेश केन्द्रित समाजवादी पार्टी र राजपा एक अर्कालाई प्रमुख प्रतिस्पर्धी मान्दै आएकाले एउटाले पार्टी एकीकरणको कुरा अगाडि बढाउँदा अर्कोले नदेखिने गरी इन्कार गर्दै आएको हो। तर समाजवादी पार्टीले भने राजपासँग एकिकरणका लािग ढोका खुला रहेको दावी गर्दै आएको छ। मधेसका मतदाताका अगाडि एकता विरोधी नदेखिन र एक अर्कालाई अलमलाउन मात्र यादबले वार्ताको कुरा अगाडि बढाएको राजपाको बुझाई छ।
‘सरकारको नीति तथा कार्यक्रममा संविधान सर्वस्वीकार्य रहेको उल्लेख थियो, संविधानमा कुनै पनि विमती नरहेको लेखिएको थियो तर संविधान पुनर्लेखनको कुरा गर्दै आएका उपेन्द्र यादवले कुनै विमती नै नरहेको भन्दै हस्ताक्षर गर्नुभएको छ। वहाँलाई जनतासमक्ष जवाफ दिनुपर्छ,’ राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने।
दुबै पार्टीको एकीकरण नीति सिद्धान्त, आदर्श र मिसनमाथि प्रहार रहेको उनको आरोप छ। ‘वैशाख १९ गतेको बैठकमा प्रथम चरणमा चार शक्ति र पछि अन्य दल मिलेर वैकल्पिक शक्ति निर्माण गर्ने कुरा भएको थियो’ उनले भने, ‘तर उपेन्द्रजीले वैकल्पिक शक्ति निर्माण नगरी पार्टी निर्माणमा लाग्नुभयो।’
उनले नवगठित समाजवादी पार्टीले एकताका लागि सर्वप्रथम सरकार छाड्नुपर्ने शर्त राखे। महतोले राजपासँग एकताका लागि समाजवादी पार्टीले बनाएको वार्ता समिति अर्थहीन रहेको टिप्पणी गरे। ‘वार्ता समिति बनिरहन्छ यसमा म केही भन्न चाहन्न तर तत्काल पार्टी एकीकरणको कुनै सम्भावना छैन,’ उनले थपे ‘यसका लागि हामी कुनै गृहकार्य गरेका छैनौं, हाम्रो सम्पुर्ण ध्यान पार्टीका अगामी महाधिवेशनमा केन्द्रित छ।’
तर समाजवादी पार्टीले भने महतोको टिप्पणी व्यक्तिगत रहेको बताउँदै त्यसले एकतामा कुनै प्रभाव नपार्ने दाबी गरेको छ। फोरमका केन्द्रीय कोषध्यक्ष विजय कुमार यादवले पार्टी एकतासँग सरकारमा बस्ने या बाहिरिने कुरासँग कुनै सरोकार नभएको टिप्पणी गरे।
‘समाजवादी पार्टीले राजपासँग एकीकरण गर्ने निर्णय गरेको छ,’ प्रदेश २ का आर्थिक तथा योजनामन्त्री समेत रहेका यादवले भने ‘वार्ता चलिरहेको छ लगभग यो प्रयास अन्तिम हुनेछ र राजपासँग एकता हुन्छ।’