वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भन्दै संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण हुने भएको छ । मधेस आन्दोलनबाट उदाएका फोरम अध्यक्ष उपेन्द्र यादव र माओवादी युद्धबाट स्थापित भएका बाबुराम भट्टराईले ‘समाजवादी पार्टी नेपाल’ पार्टी घोषणा गरेका छन् । २०७२ मा तत्कालीन माओवादीबाट अलग भएका नयाँ शक्ति संयोजक भट्टराईले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा आफू मात्र लागेर नहुने निष्कर्षसहित संघीय समाजवादी फोरमसँग वार्ता अघि बढाएको र एकवर्ष अघिदेखिको प्रयास अन्ततः शनिबार सफल भएको बताए ।
नयाँ शक्ति पार्टीले यसअघि पटक–पटक एकीकरणकालागि फोरम सरकारबाट बाहिरिनुपर्ने शर्त राख्दै आएको थियो । तर दुबै पार्टीबीच एकीकरण भइ बन्ने समाजवादी पार्टी नेपाल तत्काल सरकारबाट नबाहिरिने सहमती भएको छ । फोरम अध्यक्ष उपेन्द्र यादवले नेकपासँग दुई बुदे सहमति गरेर सरकारमा सहभागी भएकाले तत्कालै सरकार नछाड्ने गरी सहमती भएको नयाँ शक्तिका केन्द्रीय सदस्य उमेश साहले जानकारी दिए । ‘विगतमा गरिएको सहमति कार्यान्वयन गर्न सदनमा सरकारलाई एउटा निश्चित समय तोकेर दिइने छ,’ साहले भने, ‘सरकारसँग भएको सहमती कार्यान्वयन भएन भने बाबुराम भट्टराई र उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गरेर सरकारबाट बाहिरिने घोषणा गर्ने छ ।’
समाजवादी पार्टीमा दुई अध्यक्ष रहने गरी सम्झौता भएको छ । पार्टीको सर्वोच्च निकाय संघीय परिषदको अध्यक्षता डा.बाबुराम भट्टराईले गर्नेछन् भने केन्द्रीय कार्यकारी समितिको अध्यक्षता उपेन्द्र यादवले गर्नेछन् । फोरमका १६ र नयाँ शक्तिका ९ गरी २५ सदस्यीय पदाधिकारी हुनेछन् । संघीय परिषद्मा एक हजार सदस्य रहने छन् । केन्द्रीय समिति ४ सय २९ जनाको हुने साहले जानकारी दिए । उनका अनुसार संघीय परिषदमा फोरमबाट ६ सय र नयाँ शक्तिबाट चार सय सदस्य रहने छ भने केन्द्रीय समितीमा फोरमबाट २२९ र नयाँ शक्तिबाट १५१ सदस्य रहनेगरी सहमती भएको छ ।
भट्टराई पुर्व प्रधानमन्त्री रहेकाले पार्टीमा उनलाई पहिलो मर्यादाक्रममा राखिएको छ भने यादव उपप्रधानमन्त्री रहेकालाई उनलाई दोस्रो नम्बरको मर्यादाक्रममा राखिएको हो । यस्तै तेस्रोमा अशोक राई र चौथो मर्यादाक्रममा राजेन्द्र श्रेष्ठ रहनेछन् ।