बालुवाटार जग्गा काण्डमा मुछिएका नेकपाका महासचिव तथा संघीय सांसद विष्णुप्रसाद पौडेलले लज्जित बनाएको उनका प्रत्यासी रुपन्देही क्षेत्र २ कांग्रेस नेता युवराज गिरीले बताएका छन् ।
उनले राजनितिक नैतिकता भए राजीनामा दिन पनि आग्रह गरेका छन् । पौडेलका कारण ‘रुपन्देही क्षेत्र नम्बर २ को मतदाता र बासिन्दा हुँ’ भन्न समेत लज्जाबोध भइरहेको बताए । कांग्रेसका प्रत्यासी गिरीले बालुवाटार जग्गा प्रकरणको निष्पक्ष छानबिन गर्नुको साटो सरकारले पौडेललाई उन्मुक्ति दिन लागिपरेको आरोप लगाए ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा रुपन्देही क्षेत्र २ मा पर्ने प्रदेश सभा, नगरपालिकाका मेयरका प्रत्यासीहरूले जनतालाई लज्जित बनाएको घटनामा पौडेलको राजीनामा माग गरे ।
पत्रकार सम्मेलनमा गिरीसहित प्रदेश सभाका प्रत्यासीहरू काजिमान श्रेष्ठ र महेशमान सिंह, तिलोत्तमा नगरपालिकाका प्रमुखका प्रत्यासी रामकृष्ण खाँण, बुटवल उपमहानगरका खेलराज पाण्डे र सैनामैना नगरपालिकाका फणिन्द्र शर्मा थिए । चुनाव जितेका पौडेल आफै सरकारी जग्गा हडप्न तल्लीन रहँदा रुपन्देही क्षेत्र २ का जनताको शिर निहुरिएको उनीहरूको भनाइ थियो ।
कार्यक्रममा प्रतिनिधि सभाका प्रत्याशी गिरीले बालुवाटार जग्गा प्रकरणमा शेरबहादुर देउवा नै दोषी देखिए पनि कारबाही हुनुपर्ने बताए । ललिता निवास जग्गा प्रकरणको निष्पक्ष छानबिन होस् र दोषीमाथि कडाभन्दा कडा कारबाही होस् भन्ने पक्षमा कांग्रेस रहेको उनीहरूको भनाइ छ ।
बुटवल उपमहानगरका मेयरका प्रत्यासी पाण्डेले राजधानीमा बसेर बुटवलका जनतालाई झुक्याउने पौडेललाई कारवाही नभए कांग्रेसले आन्दोलन चर्काउने बताए ।